तमोर–मेवा जलविद्युत् आयोजना : १६ वर्षसम्म पनि काम सुरु भएन, ‘झाेलामा खाेला बाेक्नेहरू हाेसियार’ !

 साउन ४, २०७९ बुधबार १९:४०:४६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

तमाेर नदी

ताप्लेजुङ – आजभन्दा १६ वर्ष अगाडि अर्थात् २०६३/०६४ मा सुरु गर्ने भनिएको तमोर–मेवा जलविद्युत् आयोजनाको काम अहिलेसम्म सुरु हुन सकेको छैन । 

एक सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भनेर सम्झाैता गरेकाे स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले अहिलेसम्म आयोजनास्थलमा उपस्थिति नै जनाएको छैन । कम्पनीका अध्यक्ष  भानेन्द्र लिम्बुले त्यति बेला प्रतिबद्धता जनाउँदै पाँच वर्षको अवधिमा आयाेजना बन्छ भन्नुभएकाे थियाे । 

२०७७ सालको जेठमा तमोर–मेवा जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि भनिएको थियो, ‘सशस्त्र द्वन्द्व र सरकारले लाइसेन्समा खेलबाड गर्‍याे । कानुनी लडाइँ लड्दा समय खर्चिनु पर्‍याे । अब ढुक्क हुनुहोस्, आयोजना बन्छ ।’ तर सार्वजनिक सुनवाइमा गरेको प्रतिबद्धता तीन वर्ष पुग्न लाग्यो । आयोजनाकाे कुनै काम सुरु भएकाे छैन । 

झोलामा खोला बोकेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छनन् । आयोजना प्रभावित क्षेत्र फुङलिङ नगरपालिका ३ आँगेदिमका क्रिलोचन भारती भन्नुहुन्छ, ‘अब आए एक हातको चोर औँला उठाउँछौँ । अर्को हातमा लठ्ठी बोकेर खेदाउँछौ ।’ 

झन्डै २२ अर्ब रुपैयाँ लागतमा आयोजना सम्पन्न गर्ने बताइए पनि स्थानीयवासीलाई ढाँटेकाे झैँ भएकाे छ । नेपाल सरकारको ऊर्जा मन्त्रालय अन्तर्गत रहेको जलविद्युत् लगानी तथा विकास संस्था लिमिटेड र गोरक्ष हाइड्रोपावर प्रालिलाई तमोर–मेवा जलविद्युत् आयोजनाकाे साझेदार संस्थाको रूपमा लिएको थियो । 

जलविद्युत् लगानी संस्थाले ३५ प्रतिशत, गोरक्षले ३० प्रतिशत, स्पार्कले १५ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका बासिन्दा र देशभर सर्वसाधारणका लागि १०/१० प्रतिशत शेयरका लागि लगानी गर्ने लगाउने बताइएको थियो । 

तमोर र मेवा दुवै हिमालबाट बग्ने नदीको पानी भएकाले आयोजना आकर्षक मानिन्छ । आयोजनाले मिक्काखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका भएर बग्ने मेवा खोलाको पानी फुङलिङ नगरपालिका र मिक्काखोला गाउँपालिका भएर बग्ने तमोर नदीमा मिसाइ तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्ने गरी अनुमति लिएको छ । आयोजनास्थलमा २१ हेक्टर सरकारी र १५ हेक्टर निजी जमिन छ । पाँच वर्षमा आयाेजना बनाउने लक्ष्य कागजमै सीमित बनेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया