कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चोरी सिकार बढ्दै, भेडा–बाख्रासमेत पासोमा परेर मर्छन्

 साउन ५, २०७९ बिहिबार १७:५४:४४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको हिमाली क्षेत्रमा चोरी सिकार बढेको पाइएको छ । हिमाली भेगमा पाइने कस्तुरी मृग, हिउँ चितुवा लगायतका वन्यजन्तुको चोरी सिकार भइरहेको पाइएको हो । 

स्थानीय तथा चीनको तिब्बतबाट आएकाहरूले पासो थापेर चोरी सिकार गर्ने गरेका स्थानीयवासीको भनाइ छ । बेला–बेला भेडा बाख्रासमेत पासोमा पर्ने गर्नु यसको प्रमाण भएको फक्ताङलुङ गाउँपालिका ६ लेलेपका गोपाल विष्ट बताउनहुन्छ । यो वर्षमात्रै चार वटा भेडा पासोमा परेर मरेका उहाँले  बताउनुभयो । चोरी सिकार बढेको भनेर भेडापालक किसानले प्रचार गरेअनुसार धेरै मात्रामा चोरी सिकार भने नभएको कञ्चनजङ्घा व्यावस्थापन समितिका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । नचाहिँदो प्रचारले संरक्षणमा असर पर्ने गरेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७८÷०७९ मा १३ वटा पासो फेला परेको उहाँले बताउनुभयो । 

चार वर्षअघि सदरमुकाम फुङलिङबाट गएको नेपाली सेनाको नयाँ रणभीम गुल्मको टोलीले २१ वटा पासो भेटेको थियो । तत्कालीन गुल्मपति रवि केसीको नेतृत्वमा गएको टोलीले वडा ७ ओलाङचुङगोला क्षेत्रको तिगुमा, चेने, मौवाटार, देउमा क्षेत्रमा ३५ सय देखि ४२ सय मिटर उचाइमा पासोहरू भेटाएको सेनाको अभिलेखमा उल्लेख छ । 

हिमाली भेगको चार हजार तीन सय मिटर उचाइको चारराते, तावालासे, सेलेले, भेरेनी, अन्धापोखरी, कुर्लुङ आसपासको क्षेत्रमा पासो भेटेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले बताएको छ । 

रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्चको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा जङ्गलमा थापेको १७ वटा पासो संरक्षणकर्मीले भेटेको मञ्चका कार्यक्रम अधिकृत रमेश राईले बताउनुभयो । 

वर्षाैँदेखि भइरहेको चोरी सिकार स्वीकार्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना अधिकृत रमेशकुमार यादवले घुन्सा क्षेत्रमा पासो थाप्नेको खोजी भइरहेको बताउनुभयो । दुर्लभ हिउँ चितुवा, कस्तुरी मृग मारेको वा मारेर त्यसको अङ्ग बेचबिखन गरेको पाइएमा १० लाख रुपैयाँ जरिबाना अथवा १० वर्ष जेल वा दुवै सजाय हुने उहाँले बताउनुभयो । 

फक्ताङ्लुङ ६ ओलाङचुङगोलाका अध्यक्ष छेतेन शेर्पाले यो क्षेत्र चीनको तिब्बतसँग जोडिएकाले सिमाना पारिबाट चोरी सिकार गर्न आउँछन् कि भन्ने आशङ्का गरिएको तर कोरोना सङ्क्रमणपछि उताबाट चोरी सिकारका लागि आएको सङ्केत नपाएको बताउनुभयो ।  

तस्बिरहरू : कमल विष्ट, ताप्लेजुङ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया