ताप्लेजुङ : नेपाली हाते कागज उद्याेगलाई टिक्नै समस्या !

 साउन ६, २०७९ शुक्रबार २०:३४:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ साँघुमा सञ्चालित गोरूजुरे हाते कागज उद्योगका सञ्चालक पहलमान चोङ्बाङले कोरोना सङ्क्रमणको महामारीअघि एक वर्षमा १५ सय कोरीसम्म नेपाली कागज बिक्री गर्नु हुन्थ्यो । कोरोना महामारीपछि भने नेपाली कागजको बिक्री घटेको उहाँले गुनासो गर्नुभयो । यसपालि भने ६ सय कोरी मात्रै बिक्री भएको चोङबाङको भनाइ छ । विदेशी बजारमा माग कम भएकाले घरैमै थन्क्याएर राख्नुपरेको उहाँले बताउनुभयो । 

‘हाम्रो प्रमुख बजार विदेश थियो । कोरोना सङ्क्रमणको प्रभावपछि विदेशीहरू सामान लिन आएका छैनन् । नेपाली बजारको माग सानो छ । अहिले सामान्य मात्रामा मात्रै बिक्री भएको छ’, चोङबाङले बताउनुभयो । 

बजार अभाव भएपछि उत्पादनकर्ताहरू आफैँले डायरी लगायतका सामग्री तयार गरेर बिक्री गर्ने गरेका छन् । ‘कागज नै बिक्री कम हुन थालेपछि डायरी, पेन्टिङ, विभिन्न किसिमका कार्ड बनाएर बिक्री गर्न थालेका छौँ’, फुङ्लिङमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक छिरिङ लामाले भन्नुभयो, ‘यसो नगर्दा त कामदारलाई ज्याला दिन पनि नपुग्ने अवस्था भयो ।’

उत्पादन गरिएका सबै सामग्री बिक्री नहुँदा कामदार र कच्चा पदार्थ सङ्कलकलाई ज्याला दिन समस्या भएको चोङ्बाङ बताउनु हुन्छ । ‘मेरो उद्योगमा आठ परिवारलाई रोजगारी दिएको थिएँ । परिवारका दुई जनाले श्रम गर्दा पनि दैनिक १६ जनाले काम गर्थे । तर अहिले उत्पादित कागज बिक्री भएको छैन’, चोङ्बाङले भन्नुभयो, ‘लामो समयदेखि काम गरिरहेकालाई पनि घर पठाउनुपर्ने अवस्था आयो ।’ 

स्थानीयस्तरमा पाइने लोक्ता र अर्गेलीबाट नेपाली कागज बन्छ । यो कागज बलियो, लामो समयसम्म राख्न मिल्ने र धुल्याहा किराले नखाने भएकाले यसको प्रयोग बढी हुन थालेको लामाको बताउनु हुन्छ । 

अर्गेली (लोक्ता) नेपाली कागज बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ हो । अर्गेलीलाई बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ । नेपाली कागज बनाउनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल (कास्टिक सोडा) मात्रै हो । केमिकल बाहेकको कच्चा पदार्थ स्थानीयस्तरमै पाइन्छ । यस अघिसम्म नेपाली कागज जापानी मुद्रा (ऐन) बनाउन विदेश निर्यात हुने गरेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया