रेन्बाे ट्राउट माछापालनमा रम्दै ताप्लेजुङका युवा

 साउन १६, २०७९ सोमबार १९:३८:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङ फावाखोलाका मनोज भट्टराई र नवीन डाँगीले चार वर्षअघि रेन्बो ट्राउट माछापालन सुरु गरे । त्यस बेलासम्म रेम्बे ट्राउट माछाको बारेमा सुनेका मात्र उनीहरू अहिले सफल माछा व्यावसायी बनेका छन् । 

नगरपालिकाले दिएको ६ लाख बिउ पुँजीमा केही थपेर, गाउँका साथीभाइसँग मिलेर मनोज र नवीनले सुरु गरेको माछापालनबाट राम्रै आम्दानी हुन थालेको छ । अहिले महिनाको झन्डै चार लाख रुपैयाँको माछा बिक्री गर्दा सबै खर्च कटाएर दुई लाख रुपैयाँ बचत हुने नवीनले बताउनुभयो । अहिले पनि बेच्नका लागि झन्डै १० हजार माछा रहेको र १० हजार भुरा हुर्किँदै गरेको अर्का व्यवसायी मनोजले जानकारी दिनुभयो । ट्राउट माछा प्रतिकेजी एक हजार ५० रुपैयाँमा बिक्री भइरहेको र झापा, इलाम, पाँचथरदेखि किन्ने मान्छे आउँदा बजारको समस्या नभएको उहाँको भनाइ छ । मनाेज र नवीनसहित राधिका भट्टराई, मनिषा भट्टराई, देवेन्द्र भट्टराई, कविता कँडेल र डम्बर विष्टको १६ लाख रुपैयाँको लगानी अहिले झन्डै ७० लाख रुपैयाँ पुगेको छ । 

उनीहरूले माछा मात्र बेच्दैनन् । गएको वर्षदेखि ट्राउट माछाको भुरा उत्पादन पनि सुरु भयो । यस वर्ष सोचेको जस्तो उत्पादन नभएको नवीनले गुनासो गर्नुभयो । यस वर्ष भने तीन लाख भुरा उत्पादन गर्ने लक्ष्य लिएको उहाँले सुनाउनुभयो । भुराको बजार पनि राम्रै रहेको र अहिले तेह्रथुम, ताप्लेजुङ र पाँचथरसम्म भुरा व्यापार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भुरा प्रतिगोटा आठदेखि ४० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

माछापालन सजिलो नभएको मनोजको अनुभव छ । उहाँले भन्नुभयो, ‘माछाका भुरा पोखरीबाट झिकेको आठ घण्टाभित्र फेरि लगाइसक्नुपर्ने हुन्छ नत्र मर्छ, त्यसैले पनि यो व्यवसाय चुनौतीपूर्ण छ ।’ ट्राउट माछाबारे सुरुमा धेरैलाई थाहा नभएको तर यसको विशेषता र फाइदाबारे व्यापक प्रचार भएसँगै धेरैलाई खाने बानी लागेको उहाँले बताउनुभयो । माछाका लागि चारो काठमाण्डौबाटै ल्याउनुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । 

माछा छिटो बढ्न १६ देखि १८ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ  । भुरा निस्कन नौदेखि १४ डिग्री सेल्सियस तापक्रम चाहिन्छ  । ‘यहाँको हावापानी अनुकूल भएकोले पनि माछापालन राम्रो छ । सुरुमा दुई वटा पोखरीबाट सुरु गरेको व्यवसाय अहिले ६ जटा पोखरीमा पुगेको छ’, मनोजले भन्नुभयो । 

ट्राउट माछा मुटु रोगीका लागि फाइदाजनक मानिन्छ । काँडा कम र नरम भएका कारण सबै उमेरका मानिसका लागि खान उपयुक्त मानिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया