मान्छेलाई काममा व्यस्त बनाउन सकियो भने पनि आपराधिक घटना कम गर्न सकिन्छ

 साउन २३, २०७९ सोमबार ११:१४:२४ | प्रा.डा.युवराज लुइँटेल
unn.prixa.net

पत्रपत्रिकाले आत्महत्याको दरमा वृद्धि भयो भनेर भन्ने गरे पनि तथ्याङ्क हेर्दा भने आत्महत्याको सङ्ख्यामा बढोत्तरी आएको पाइँदैन । हाम्रो देशमा ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आत्महत्या एकदमै धिमा गतिमा बढेको छ । तर, अरु देशमा हेर्ने हो भने यो भन्दा धेरै बढेको पाइन्छ । नेपाली समाजको लागि अहिले हेर्दा केही बढी हो तर, ऐेतिहासिक रुपमा बढेर गएको भने छैन । 

आत्महत्या पहिले पनि थियो तर, चर्चा हुँदैनथ्यो । हामीले थाहा पाउने भनेको रेडियो, टीभी र अखबार साथै प्रहरीले भनेपछि हो । यसको मुख्य श्रोत भनेको नेपाल प्रहरीको तथ्याङ्क हो । तर, प्रहरीको तथ्याङ्कले एकदमै बढेको भन्ने देखाउँदैन । अहिले जति छ त्यो चिन्ता गर्नुपर्ने तहमा छ । 

समाजमा विभिन्न थरीका व्यक्तिहरु हुन्छन् । विभिन्न प्रकृतिका व्यक्तिहरु हुन्छन् । विभिन्न पृष्ठभूमि तथा उमेरका व्यक्तिहरु हुन्छन् । विभिन्न आवश्यकताका व्यक्तिहरु हुन्छन् । ती सबैको इच्छा तथा चाहनालाई समाजले सम्बोधन गर्न सक्दैन । त्यसकारण एक खालको असमानता समाजमा देखा पर्छ । त्यो असमानताले एक प्रकारको असन्तुष्टितिर धकेल्छ र केही खास मनोवृत्ति भएका व्यक्तिहरु एउटा खास दिनको खास समयमा आत्महत्या गर्ने तहमा पुग्छन् ।आर्थिक अभाव, असमानता, असफल प्रेम, पारिवारिक बेमेल, विवाहपछिको सम्बन्ध, अविश्वास, प्रतिशोध, निराशा जस्ता सबै कारणको समष्टि आत्महत्याको जे प्रवृत्ति छ समाजमा त्यो चाहिँ परिणाम हो । 

आत्महत्यामा आफ्नाे ज्यान लिने तथा आफ्नो र अरुको पनि हत्या गर्ने गरेको देखिन्छ । अरुको हत्या गरेर आफू पनि आत्महत्या गर्नेमा दुई वटा कुरा छन् । पहिलो भनेको आर्थिक हैसियतको कुरा हो । केही वर्ष अगाडि एउटा जिल्लामा एउटा महिलाले दुई वटा छोरीलाई लिएर आत्महत्या गर्नुभएको थियो । त्यो चरम गरिबीको कारण थियो । 

तर, अहिलेको चर्चित घटना भने विवाहेत्तर सम्बन्धका कारणले भएको हो । श्रीमान्, श्रीमती दुवैको विवाहेत्तर सम्बन्धले जुन वैमनश्यता सृजना भयो दम्पतीमा त्यसले निराशा ल्यायो र त्यसबाट बाहिर आउने उपाय नदेखेपछि भएका छोराछोरीलाईसमेत समाप्त गर्ने गरिएको घटना हो । एक प्रकारको समस्यासँग जुध्दाजुध्दै बाहिर आउने उपाय पत्ता नलागेपछि आफूमात्रै जाने भन्दा परिवारलाई नै सिध्याइदिने भन्ने चरम निराशाको अभिव्यक्तिको रुपमा यो घटना भएको देखिन्छ । प्रायः मान्छेले आफूलाई मात्र समाप्त गरेको देखिन्छ समाजमा । तर, केही केही घटनामा परिवारका सदस्यलाई समाप्त गरेको यदाकदा आउने गरेको छ । 

एकल परिवारमा धेरै समस्या

एकल परिवारमा श्रीमान्, श्रीमती दुवैलाई हेर्ने अरु तेस्रो व्यक्ति नहुने हुँदा त्यहाँ यस्ता घटना बढेको र एकले अर्कोलाई अविश्वास गर्ने प्रवृत्ति पनि बढेको पाइन्छ । बितेको ३०/४० वर्षको नेपाली समाजलाई हेर्ने हो भने प्रायः सबै परिवार आफ्नो थातथलोबाट बाहिर सरेको स्थिति छ । जुन गाउँमा जन्म्यो त्यो गाउँमा छैन । नेपालका प्रायजसाे परिवार आफ्नो गाउँ, ठाउँ, परिवार र संस्कृतिबाट बाहिर आएको देखिन्छ । त्यो भनेको आफ्नो चालचलन, धर्मबाट पनि बाहिर आएको देखिन्छ । 

यसरी हेर्दा अहिले परिवार धेरै कुराबाट बाहिर आएको देखिन्छ । त्यो बाहिर आएको भनेको गाउँबाट सहर अनि कृषिबाट गैर कृषितिर आएको हो । त्यो बाहिर आएको भनेको जागिर खाने, पेसा गर्ने, व्यापार, व्यवसायतिर आएको पनि हो । त्यो बाहिर आएको भनेको विदेश जाने पनि हो । यसबाट परिवार नामको जो प्रभावशाली संस्था थियो त्यो परिवार प्रथा कम भयो । यसले गर्दा संयुक्त परिवारबाट एकल परिवारमा आउँदा श्रीमान, श्रीमती एक प्रकारले उन्मुक्त पनि भए एक तहमा । 

परिवारबाट बाहिर आउँदा त्यसमा श्रीमान्, श्रीमतीमात्र आपसी सम्बन्धमा जाँदा हुने बाँकी सासु, ससुरा, आमा, बा तथा परिवारका अरु सदस्यहरुसँग सम्बन्ध नहुँदा पनि परिवार चल्ने भएपछि अनि परिवार, पेसा तथा ठाउँ धेरै कुराबाट उन्मुक्त र नयाँ पनमा जाने भएपछि यस्ता घटना बढेका हुन् । पछिल्लो समय आमसञ्चारका साधनहरु र विज्ञान प्रविधिको कारणले आएको मोबाइल तथा सामाजिक सञ्जालसँग नेपाली समाज यति धेरै टाँसिन पुग्यो कि सामान्य जनताले यो के हो र कसरी चलाउने भन्ने बुझ्न पनि हम्मे भइरहेको स्थिति छ । 

सामाजिक सञ्जाल वा विज्ञान प्रविधिको सेवाहरुमा नपढेका मान्छेले पनि यसको मूल उपयोग के हो र दुरुपयोग के हो भन्ने सोच बनाउन नपाउँदै व्यापक रुपमा विस्तार भयो यसले पनि एक प्रकारको विशृङ्खलता ल्यायो । यसले समाजमा अपराध बढ्ने क्रम वा आत्महत्याको क्रममा बढोत्तरी भयो । 

मोबाइल अथवा समाजिक सञ्जालले एउटा मान्छेलाई धेरै जनासँग जोड्यो पनि तर, जोड्दा जोड्दै त्यसले एक्लो पनि बनाइदियो । मोबाइलमा च्याट वा भिडियो हेरेर दिनभर एक्लै समय कटाउन सक्ने पनि बनाइदियो । यसले मानिसलाई सामाजिकबाट एकल पनि बनाएको छ । 

एउटै कोठामा श्रीमान्, श्रीमती बसिरहेका छन् तर, श्रीमान् एकापट्टि अनि श्रीमती अर्कोपटि आफू व्यस्त हुन्छन् अनि एकले अर्कोलाई शङ्का गरेर हेर्छन् । यदि भौतिक भेटघाट भए देख्न सकिन्थ्यो । तर यहाँ त देख्ने कुरा भएन । देख्ने कुरामा परिवारका अरु सदस्यले पनि त्यसलाई निगरानी गरिरहेका हुन्थे । तर, मोबाइल तथा इन्टरनेटबाट राखिने सम्बन्ध देख्न नसकिने भएको हुँदा त्यहाँ शङ्का हुनसक्ने परिस्थिति निर्माण भयो । सामाजिक संरचनामा आएको परिवर्तन, सूचना प्रविधिको प्रयोग तथा आर्थिक असमानता वा गरिबी पनि आत्महत्याको कारण बन्ने गरेका छन् । 

नेपाली समाजको सामाजिक संरचना, नेपाली समाजमा आएको केही नयाँ आयामहरु जस्तो बसाइँसराइले मानिसको जीविकोपार्जनमा, सोचमा र साथीभाइमा जो रुपान्तरण आएको छ जिन्दगीमा त्यसले मानिसलाई सङ्कटतिर धकेलिरहेको छ । 

समाजको तीव्र रुपान्तरण

समाजको परिवर्तनको क्रम यति तीव्र भयो कि जसले हरेक व्यक्तिहरु म कहाँ छु भनेर सोच्नुपर्ने अवस्था आयो । मान्छेले आफूलाई स्थिर गर्न नसकेकोले छिन्नभिन्न जस्तो अवस्था छ । अर्को भनेको दश वर्षको जुन द्वन्द्वकाल हामीले भोग्यौँ त्यसले अहिले पनि नेपाली समाजमा एक वा अर्को प्रभाव दिइरहेको छ । अलिकति अपराध बढाउनमा त्यो समयले पनि योगदान गरेको छ । 

यस पछाडि भनेको यति तीव्र गतिमा अगाडि बढिरहेको समाजमा आउने प्रवृतिहरुलाई सरकारले वा प्रहरीले वा प्रशासनले पनि एकै पटक नियन्त्रण गर्न उसलाई पनि हम्मेहम्मे छ । यसले अपराधको प्रवृत्ति पत्ता लगाएर त्यसको निरुपण कसरी गर्ने भन्ने कार्ययोजना बनाएर, सोच बनाएर आफूलाई तयार गर्न पनि भ्याइसकेको छैन । समाज त्यति परिवर्तनशील भइरहेको छ । 

अहिले यो छलफलको विषय भनेको ८/१० वर्षको समाजको उपज हो । नेपाली समाज त्यसभन्दा अगाडि निकै फरक खालको थियो । त्यसकारण सरकारले, प्रहरीले, प्रशासनले यो नयाँ प्रवृत्तिलाई कसरी समाधान गर्ने भन्ने बारेमा उसलाई सोच्न तथा तयार गर्न समय चाहिन्छ उसलाई पनि । जब समाज यति तीव्र गतिमा रुपान्तरण हुन्छ भने त्यो समाजमा एक प्रकारको विशृङ्खलता त आउँछ आउँछ । यो एकदमै अस्वाभाविक होइन । यो अपेक्षित हो । तर, यसलाई चिन्ता गर्ने, निरुपण गर्ने र सम्बोधन भने गर्नुपर्छ । 

परिवार भित्रैबाट पहिचान

परिवारमा अथवा समाजमा यस्ता घटना हुँदैछ भनेर पहिचान गर्न सक्ने भनेको परिवारभित्रको सदस्यले नै हो । छिमेकी, साथीभाइ वा अरुलेभन्दा पनि परिवारका सदस्यले नै यसको पहिचान पहिले गर्न सक्छन् । मानौँ श्रीमतीको स्वभाव अलिकति अस्वाभाविक छ भने श्रीमानले, छोराछोरीले वा बाआमा जो लामो समयसँगै बसेर नियालिरहनु भएको हुन्छ त्यस व्यक्तिमा आएको परिवर्तन उहाँहरुको निगरानीमा पर्ने कुरा हो । त्यसकारण परिवार भित्रैबाट त्यसको पहिचान सबैभन्दा सजिलो उपाय हो । साथीभाइ वा छिमेकीले गर्ने भनेको अलिकति स्थिति बिग्रिसकेपछि मात्रै हो । 

परिवारभित्र पनि मोबाइल चलाउने, सामाजिक सञ्जालमा जोडिने, नजोडिने कुरामा त्यो मानिसको स्वभाव कस्तो छ र कहाँ जोडिरहेको छ भन्ने कुरा विश्वास गर्दा गर्दै पनि निगरानी पनि गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग के को लागि भइरहेको छ भनेर हामीले विचार गर्नुपर्ने हुन्छ । यसमा श्रीमान्, श्रीमतीको समझदारी सबैभन्दा मुख्य कुरा हो । कोही समाजमा एकदमै धेरै रमाइरहेको छ भने किन भन्ने प्रश्न आउँछ । बेराजगार वा फुर्सद भएर हो वा गर्नुपर्ने तमाम काम भएर पनि यसमै रमाइरहेको छ भने त्यसको पहिचान गर्नुपर्छ । मान्छेले फुर्सद पाएन भने सामाजिक सञ्जालमा रम्ने समय पनि घट्छ । त्यसकारण रोजगारी पो छैन कि, पढाइ पो बिग्रिरहेको छ कि, गर्नुपर्ने काम पो गरिरहेको छैन कि । अरु जिम्मेवारी पो पूरा भइरहेको छैन कि । 

उसलाई सामाजिक सञ्जालमा व्यस्त भयो भन्दा पनि यसो गर्यो भनेर उसलाई अर्को काममा लगाउने, उसलाई उत्पादनशील काममा लगाउने, बरु साथीभाइको बीचमा जान दिने गर्यो भने यस्ता घटना कम पक्कै पनि कम हुनेछ । 
श्रीमान्, श्रीमतीले एक अर्कोलाई आरोप लगाउने भन्दा पनि सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने, सामाजिक सञ्जालबाट अन्यत्र ध्यान लगाउन प्रेरित गर्ने र छलफलबाटै समस्या समाधान गर्ने तहमा गयो भने जटिल समस्यातिर त्यो जाँदैन र प्रारम्भिक तहमै त्यसलाई हल गर्न सकिन्छ । कसैको उद्देश्य पनि बिग्रने भन्ने हुँदैन । लतले, बानीले गर्दा बिग्रने हो । समयमै हामीले त्यसलाई पहिचान गर्यौँ र सम्बोधन गर्न सक्यौँ भने दुई जनाको बीचमा र परिवारको बीचमा समाधान हुनसक्छ । 

दक्षता वृद्धिका लागि सीप तथा तालिम

श्रीमान्, श्रीमती एकै ठाउँमा नहुँदा पनि शङ्का त हुन्छ नै । शङ्काको स्वरुपमा लगेपछि असमझदारी बढ्छ नै । प्रायजसाे श्रीमानहरु वैदेशिक रोजगारीमा जाने र श्रीमतीहरु यहीँ बस्ने गर्छन् । धेरै हदसम्म उसको एउटा बच्चा पनि हुन्छ। र, बच्चालाई कसरी राम्रो स्कुलमा पढाउँ भन्ने हुन्छ । त्यसका लागि उसले पैसा पठाइरहेको हुन्छ । र बुहारी बच्चालाई पढाउन सहर बसाइँसराइ हुन्छिन् । 

बाहिर गएर बसेपछि बच्चा स्कुल गएपछि आमाको केही काम हुँदैन । अब त्यहाँ परिवारको अरु सदस्य नहुँदा अरुसँग सम्बन्ध बढाउन पुगेको भनेर सञ्चार माध्यममा यही कुरा धेरै पढ्न पाइन्छ । यसका लागि श्रीमतीलाई पनि सीप सिकाएर सकभर सँगै विदेश लाने । श्रीमान् उता विदेश घुम्ने रमाउने अनि यता श्रीमतीलाई शङ्का गरेर बस्ने कुरा सामाजिक रुपमा त्यति स्वस्थ भएन । 

यदि श्रीमान्, श्रीमतीसँगै विदेश काममा जाने परिस्थिति बनेन भने श्रीमतीसँगै परिवारका अरु सदस्य राख्ने । उसलाई नियन्त्रण गर्ने अभिभावक राख्ने भन्दा पनि गफ गर्नका लागि साथी राख्ने रुपमा एकजना राख्ने । एक्लै छोड्दा बिग्रन्छन् भन्ने मान्यता राख्ने होइन । तर, यदि पढेको छैन भने पढ्न लगाउने, तालिम लिन लगाउने, सीपयुक्त तालिममा सहभागी गराउने गर्दा रोजगारी खोज्ने अनि सामाजिक सञ्जालमा जोडिएर फुर्सदको समय जुन बित्थ्यो त्यसलाई घटाउन सहयोग पुग्छ । यसरी त्यो समय उत्पादनशील कुरामा लगाउन सकियो भने ४/५ वर्षपछि श्रीमान् विदेशबाट फर्कँदा श्रीमतीले पनि एउटा सीप सिकिसकेको, एउटा डिग्री लिइसकेको र बजारमा जोडिनसक्ने स्थिति बनिसकेको हुन्छ । विदेश जाने श्रीमानले मैले श्रीमतीलाई पनि केही लगानी गर्नुपर्छ र शिक्षा तथा सीप केही न केहीमा जोड्नै पर्छ । 

अहिलेको अवस्था भनेको श्रीमान्, श्रीमतीबीच मनमुटाव हुँदा बसाइँ सरेकोले नयाँ गाउँ, नयाँ ठाउँ, नयाँ साथी, नयाँ छिमेकी हुने अवस्था हो । यसमा उसलाई बुझिरहेको उसको आफन्त वा साथीभाइ उनीहरुसँग छैन । परिवारभित्र केही समस्या अथवा मनमुटाव भयो भने धेरै हदसम्म परिवारले समस्या समाधान गर्छ । यदि सकेन र छिमेक, आफन्त वा साथीभाइसम्म पुग्यो भने त्यसमा मसला थप्ने गरेको पाइन्छ समाजमा । कुनै समस्या उठिरहेको छ भने त्यसलाई परिवारभित्र समाधान गर्नु सबैभन्दा राम्रो हो । 

समाजमा प्रायः कुरो काट्ने समस्या हुन्छ । यस्तोमा समाजले गर्न सक्ने भन्दा त्यो कहाँको समाज हो, कस्तो छ भन्ने हुन्छ । पढेलेखेको, बुझेको, नेतृत्व दिन सक्ने समाज हो कि वा कम पढाइ भएको, चेतनास्तर अलि कम भएको खालको समाज हो भने त्यो अर्कै हुन्छ । समाजका विभिन्न तह हुन्छन् । परिवार समाजको कुरा गर्दा नेतृत्व दिन सक्ने, राम्रो गर्नुपर्छ भन्ने खालका मानिस छन् कि छैन भन्ने हुन्छ । यसमा गाउँ ठाउँका शिक्षक जसले यस्ता कुरामा मेरो सामाजिक दायित्व पनि हुन्छ भन्ने बुझेकोले यसमा शिक्षकले पनि सहयोग गर्न सक्छन् । 

पालिकाको समन्वयकारी भूमिका

यसमा अहिले जोडिन सक्ने भनेको गाउँपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतिनिधि पनि हुन सक्नुहुन्छ । किनकि उहाँहरुसँग अहिले अथाह अधिकार छ । त्यो अधिकारमा गाउँ ठाउँमा भएका यस्ता सानातिना झमेलाहरु, पारिवारिक बेमेल तथा समस्याहरुलाई उहाँहरुले समाधान गर्ने अधिकार क्षेत्र लिएर उहाँहरु अगाडि आइरहनु भएको छ । त्यहाँ न्यायिक समिति पनि छ । न्यायिक समितिले यस्ता खालका सानातिना मुद्दा मामिला हेर्ने गर्छ । त्यसलाई अदालत तथा प्रहरीसम्म नपुगी त्यहीँ निरुपण गर्ने कार्यक्षेत्र पनि लिएर बसेको छ समिति ।  

यदि हामीले त्यस्ता न्यायिक समितिलाई राम्रोसँग तालिम दिन सक्यौँ भने र उनीहरुको भूमिकाको बारेमा बुझाउन सक्यौँ भने अनि कामलाई प्रभावकारी बनाउन सक्यौँ भने परिवारबाट बाहिर आएको कुनै घटना छ भने पनि त्यो गाउँपालिका वा नगरपालिका भित्रबाट धेरै हदसम्म मिल्न सक्ने हुन्छ । तर, उहाँहरुले कति समय दिन सक्नुहुन्छ, कति मध्यस्थकर्ताको भूमिका खेल्न सक्नुहुन्छ, समस्यालाई कति गहिराइमा गएर बुझ्न सक्नुहुन्छ त्यसमा भर पर्छ । 

दुवै पक्षलाई हार भएको महसुस नहुने गरी कसरी बुझाउन सक्नुहुन्छ । यो भनेको सीप तथा दक्षताको कुरा हो । पालिकाका प्रतिनिधिमा त्यो दक्षता अथवा क्षमता छ कि छैन भनेर हेर्नुपर्छ । यसकारण यस्ता समस्या समाधान गर्न यी न्यायिक समितिलाई दक्ष बनाउनु, तालिम दिने, कामको क्षेत्राधिकार बनाउने र पालिकामा यो सुविधा छ भनेर आम नागरिकलाई यसका बारेमा जानकारी दिने काम गर्न सकियो भने यस्ता समस्या स्थानीय स्तरमा नै हल गर्न सकिन्छ। 

(लुइँटेलसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १०, २०८१

प्रा.डा.युवराज लुइँटेल

लुइँटेल त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया