धान र गहुँको बिउ उत्पादनमा कैलाली आत्मनिर्भर

 साउन २८, २०७९ शनिबार ९:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भएको छ । कैलालीमा उत्पादन भएको बिउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ ।

जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बिउ आवश्यकता रहेकामा त्यो भन्दा धेरै बिउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कैलालीमा झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १ सय २० किलो बिउ आवश्यक पर्ने गर्छ ।

सरकारी स्वामित्वको बिउबिजन कम्पनीले उन्नत बिउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा निजी क्षेत्रका एक दर्जनभन्दा बढी बिउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहले समेत उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।

 प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनर्वास क्षेत्रमा वर्षौँदेखि बाँझो अवस्थामा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गा भाडामा लिइ धान र गहुँको उन्नत बिउ उत्पादन कार्यक्रम भइरहेको छ ।

उन्नत बिउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुँदा समस्या खेप्नुपरेको धनगढी उपमहानगरपालिकाका किसान ललित रानाले गुनासो गर्नुभएको छ ।

उन्नत बिउको प्रयोग बढेसँगै रैथाने जातका बालीको खेती हराउन थालेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लाको ठूलो क्षेत्रफलको जग्गामा विगतमा गरिने स्थानीय जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौँटेरी जस्ता धानको बिउ हराइसकेको किसानको भनाइ छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया