पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – भिरालो परेको जमिन । अन्नबालीको उत्पादन राम्रो हुने । गुजुमुज्ज परेको गाउँ । ढुङ्गाले छाना छाएर चिटिक्क देखिएका घरहरु । गाउँदेखि माथिको डाँडाबाट वरिपरिको मनोरम दृश्यावलोकन गर्न पाइने।हेर्दा निकै आनन्द आउने र मनमोहक देखिने पाउद्वार गाउँ उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा पर्दछ ।
विशेषत मगर समुदायको बाहुल्यता रहेको पाउद्वार आफैँमा पनि मनमोहक, आकर्षक र सुन्दर छ । परम्परागत सिप तथा प्रविधिमा आधारित रहेर बनाइएका पाउद्वार गाउँका ढुङ्गे घरको आकर्षण पनि उत्तिकै देखिन्छ ।
पहिले–पहिले गाउँमा सडक र यातायात नपुग्दा मानिसहरुले घोडा, खच्चडलाई गाडी प्रयोग गर्ने गर्दथे । तर, म्याग्दीको पाउद्वार गाउँमा पनि भने यदि कसैले पनि घोडा, खच्चड ल्यायो भने गाउँका भूमेले राम्रो गर्दैनन्, गाउँमा असिनापानी पर्ने, बाढीपहिरो आउँछ भन्ने भनाइ थियो । त्यसैले पाउद्वार गाउँ जानेहरु पाउले टेकेर अर्थात पैदलयात्रा गर्नुपर्ने भएकाले पाउद्वारा पुग्ने भन्दाभन्दै गाउँको नाम पाउद्वार रहन गएको किंवदन्ती पाइन्छ ।
पछिल्लो समय पाउद्वार गाउँसम्मै सडकको पहुँच विस्तार भएको छ भने अचेल मानिसहरु घोडा, खच्चडको प्रयोग गर्ने र तिनैलाई भारी बोकाउँछन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट सिधै पाउद्वार हिँडेर वा गाडीमा पनि जान सकिन्छ । अहिले पोखरेबगर र पाउद्वार गाउँ जोड्ने घारखोलामाथि पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको छ । अर्कोतर्फ पोखरेबगर–घार–शिख–स्वाँत–किन्दु हुँदै पनि पाउद्वार पुग्न सकिन्छ भने घारदेखि कुरिलाखर्क हुँदै हिँडेर समेत पाउद्वार पुगिन्छ ।
पाउद्वारमा तीनवटा तल्लोगाउँ, अन्तरगाउँ र डाँडागाउँ रहेका छन् । अहिले उद्वार गाउँमा खान र बस्नका लागि तीन वटा होटलहरु पनि सञ्चालन गरिएको छ । प्रसिद्ध खयरबराह र खोप्रालेक क्षेत्रले पाउद्वार गाउँलाई चिनाएको स्थानीयवासी बताउँछन् । अन्नपूर्ण हिमालको फेदीमा पर्ने खयरभारानीमा खासगरी जनैपूर्णिमा पर्वको अवसरमा धार्मिक पर्यटकहरु पुग्ने गर्दछन् । म्याग्दीको बेनीबाट पोखरेबगर–पाउद्वार–लरेनी–खोप्रालेक र खयरखोला भएर खयरभारानीको दर्शनका लागि तालमा पुग्न सकिन्छ ।
पाउद्वार गाउँमा मकै, कोदो, गहुँ, जौ, आलु, सिमी, भटमासलगायत पुरानो तथा रैथाने बालीको उत्पादन हुँदै आएको छ । अहिले पछिल्लो समय आलु र सिमी बढी उत्पादन हुने गरेको छ । आलु र सिमीलाई विभिन्न परिकारमा रुपान्तरण गरेर प्रयोग गर्न सकिने भएकाले पछिल्लोपटक पाउद्वारमा आलु र सिमीको उत्पादन फस्टाउँदै जान थालेको हो । गाउँमा पुग्ने जो कोही वा पर्यटकलाई पनि त्यहाँका स्थानीयले आलुको अचार, तरकारी बनाएर तथा उसिनेर खाजाको रुपमा समेत खुवाउने गर्छन् ।
पाउद्वार गाउँबाट शिखको साथै छिमेकी गाउँहरु घार, खिबाङ, दोवा, भुरुङ–तातोपानी, बेग, राखु, दानालगायत आसपास गाउँको ग्रामीण सौन्दर्य मनमोहक देखिन्छ । प्रायजसाे मगर समुदायको बसोबास रहेको शिखमा दलित, क्षेत्री, बादी, गुरुङ, थकालीलगायत जातजातिको बसोबास रहेको छ । शिखको जनसङ्ख्या २ हजार २ सय १२ रहेको छ । समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित पाउद्वारबाट धौलागिरि हिमालसहित ग्रामीण सौन्दर्य र वरपरको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।
सफा र चिटिक्क परेका ढुङ्गेघर, मनमोहक ग्रामीण सौन्दर्य, मगर समुदायको बाहुल्यतासँगै कला, संस्कृति, लेकाली उत्पादनको स्वाद चाख्न पाइने पाउद्वार गाउँको विशेषता हो । गाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटक र मेला, पर्वमा मगर समुदायका युवायुवतीहरुले गीतसङ्गीत र नृत्यबाट स्वागत गर्ने गर्दछन् । पाउद्वार गाउँका कतिपय वैदेशिक रोजगारीमा पुगेका छन भने ब्रिटिस र इन्डियन लाहुरेहरु पनि छन् ।
पाउद्वार गाउँमा पाउद्वार आधारभूत विद्यालय र पाउद्वार मावि गरी दुईवटा विद्यालयहरु सञ्चालनमा छन् । पाउँद्वार गाउँभन्दा माथि पर्यटकीय क्षेत्र खोप्रालेक, धार्मिक खयरबराहताल पर्दछ । अन्नपूर्ण–५, शिखमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र खोप्रालेक क्षेत्रमा हिमालसहित वन्यजन्तुको अवलोकन गर्न पाइन्छ । यसैगरी बयली र शिखमा गुराँसको सौन्दर्य तथा खयरबराही र कान्छीबराहीमा मागेको वर पुग्ने जनविश्वास छ ।
पर्यटकीय क्षेत्र खोप्रालेकमा २ सय ५० वटा चौरीपालन गरिएको छ भने शिख गाउँमा गाईभैँसी, भेडाबाख्रा र घोडा, खच्चड पाल्ने गरिएको छ । यहाँ भेडा १८ सय ६०, बाख्रा ७ सय १० र भैँसी २ सय ६६ वटा छन् । स्थानीयको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको छ ।
पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रालेक र खयरबराह जाने रुटमा पर्ने पाउद्वारको पर्यटन प्रवर्द्धन गर्न आवश्यक पहल थालिएको स्थानीयवासी समेत रहनुभएकी अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।