मूल्य घटेपछि अलैँची गाेदाममा थन्कियाे

 भदौ २, २०७९ बिहिबार १८:२३:४८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – अलैँचीको भाउ किनेको भन्दा प्रतिमनमा (४० केजी) २० हजार रुपैयाँसम्मले घटेपछि अलैँची गोदाममा थन्किएको  छ । प्रतिमन ४८ हजार रुपैयाँमा किनेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा झरेको व्यापारीहरू बताउँछन् । 

अलैँची व्यापारी भद्रवीर रेग्मीले गुनासाे गर्दै भन्नुभयो, ‘प्रतिमन ४८ हजारमा अलैँची किने, अहिले २८ हजारमा आइपुग्यो, कति घाटा भयो आफैँ हिसाब गर्नुस् ।’ पाँच सय मन अलैँचीमा घाटा भएको उहाँले सुनाउनुभयाे ।  

थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा लागेका किसान मूल्य नपाउँदा निराश भएका छन् । सुरुमा अलैँचीको मूल्य सुन्दा हौसिएका किसानले धान फल्ने खेतका साथै बाँझो भएर खेर गएको र भिरालो जमिनमासमेत अलैँची लगाएका थिए । तर अहिले धेरैजसो किसानले उचित मूल्य नपाउँदा अलैँची गोदाममै राखेका छन् । 

सात वर्षअघि फक्ताङलुङ गाउँपालिका ३ लिङखिमका किसान मनकुमार लिम्बुले अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा बेच्नुभएको थियो । यस वर्ष भने २८ हजार रुपैयाँमा झरेपछि नबेची राखेको बताउनुभयो । 

जिल्लाका नौ पालिकाका ६१ वटा वडामध्ये फक्ताङलुङ ७ ओलाङचुङगोलाबाहेक अरू ठाउँमा अलैँची लगाइने गरिएको छ । अहिले तमोर, काबेली, मेवाका साथै विभिन्न औल क्षेत्रमा अलैँची टिप्न किसान व्यस्त छन् । यस वर्ष अलैँचीको उत्पादन बढ्ने सङ्केत देखिएको छ । 

ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची उत्पादन हुने गरेको छ । यस्तै इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा, खोटाङलगायतमा जिल्लामा पनि अलैँची लगाइन्छ । कृषि मन्त्रालयका अनुसार नेपालमा १८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । 

अलैँची निर्यात गरेर बर्सेनि ६ अर्ब देखि ७ अर्ब रुपैयाँसम्म नेपाल भित्रिने गरेको छ । नेपाली अलैँची ९९ प्रतिशत भारतीय बजारमा निकासी हुने गरेको छ । यद्यपि भारतले नेपाली अलैँची गुणस्तरहीन भन्दै दोष लगाएर उचित मूल्य नदिने गरेको बताइन्छ । 

ताप्लेजुङ तथा नेपालका पूर्वी जिल्लामा उत्पादित अलैँचीको मूल्य भारतले निर्धारण गर्ने गर्छ । भारतमा मूल्य घट्दा घटाउनुपर्ने हुनाले पनि समस्या आएको अलैँची व्यापारी दिनेश अधिकारीले बताउनुभयो । नेपाली अलैँची भारत हुँदै बङ्गलादेश, खाडी देशतिरसम्म निर्यात हुने पनि अधिकारीले बताउनुभयो ।  

मुद्र सतहबाट सात सयदेखि २१ सय मिटरसम्मको उचाइमा अलैँची खेती हुने गरेको छ । अलैँची खेतीका लागि उपयुक्त तापक्रम १० देखि २५ डिग्री सेल्सियस हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया