हिमाली क्षेत्रमा चौँरी चराउन खर्कको अभाव, चीनतर्फ चोरी निकासी बढ्दो

 भदौ ४, २०७९ शनिबार १५:५३:६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ६ का छोवाङ शेर्पाले साढे दुई वर्ष अगाडि किनेका एक सय चाैँरी तथा याकहरु अहिले दुई सय पुगेका छन् ।

साढे दुई वर्ष अघि १ सय चाैँरी चीन तर्फ लगेर बेच्न प्रति चाैँरीकाे ६५ हजारका दरले ६५ लाखमा किन्नुभएको थियो । तर, चाैँरी किनेपछि कोरोनाका कारण चीनतर्फ लाने नाका बन्द भयो  । नाका बन्द भएपछि अहिले बढेर २ सय पुगेका छन् । घुन्साका डण्डु शेर्पाका पनि चाैँरी गाईहरु बढेर २५ देखि ५० पुगेको छ । चीनले ताप्लेजुङको ओलाङचुङगोलामा रहेको तिप्ताला नाका साढे दुई वर्षदेखि बन्द गर्दा चौँरीको संख्या बढेकाे हाे । 
कोरोनाका कारणले बन्द भएको नाका अहिलेसम्म नखुल्नाले हिमाली क्षेत्रमा  पालेका चौँरी बिक्री हुन नसकेका हुन् । बन्द हुनु भन्दा अगाडि घुन्सा, ओलाङचुङगोला, याङमा साथै याम्फुदिनमा एक हजार पाँच सय जति चाैँरी रहेकामा अहिले ओलाङचुङगोलामा मात्र एक हजार ५ सय चाैँरी रहेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पा बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, ‘ साढे दुई वर्ष भयो चौँरी बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चाैँरी गोठबाट जिविका चलाउँदै आएका छन् ।

समुन्द्र सतहबाट तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजारसम्मको उचाइमा चाैँरी व्यावसायिकरूपमा पालन गरिँदै आएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चाैँरी गोठहरू पुर्‍याउने गरिन्छ ।  हिमाली समुदायको प्रमुख पेशाको रुपमा रहेको छ चाैँरी पालन व्यवसाय । यसरी पालिएका चाैँरी परापूर्व कालदेखि नै चीनको सोसाशित क्षेत्र तिब्बततिर बिक्री हुँदै आएका छन् । 

ओलाङचुङगोला क्षेत्रमा एक हजार पाँच सय, घुन्सा क्षेत्रमा ५ साय याम्फुदिनमा ७ सय वटा चाैँरी गरि २ हजार सात सय रहेका छन् । कञ्चजंघा संरक्षण क्षेत्रले नेपाल सरकारको ८० प्रतिशत र कञ्चनजंघा संरक्षण क्षेत्र र पशुपालक कृषकको २० प्रतिशत लगानी तथा संरक्षण क्षेत्रको प्राविधिक सहयोगमा अहिले पशुपालक कृषकको मागलाई हेरेर ८ सय याक तथा चाैँरीको बीमा गर्न लागिएको समेत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयाे ।

चीनका विभिन्न क्षेत्रमा नेपाली चाैँरीका बाछा र चाैँरीबाट उत्पादित छुर्पी घ्यूका साथै पशुजन्य वस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङमाका छोवाङ शेर्पा बताउनुहुन्छ । चीनका बजारमा प्रति चाैँरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको बताइन्छ । ताप्लेजुङमा ९ पालिकामध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चाैँरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । चाैँरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय चाैँरी पालनतर्फ आकर्षित हुने गरेको बताइन्छ । 

चीनको नाका बन्द भएकाले चाैँरीलाई नुनको समस्या

चीनको नाका बन्द भएपछि चाैँरीलाई दिने नुनको समस्या भएको छ । चीन तर्फबाट ल्याएको नुन खाँदै आएका चाैँरीलाई अहिले नेपालतर्फकाे नुन खुवाउँदा बिरामी परेका छन् । यहाँकाे नुन खाँदा चाैँरीहरु छेर्ने, झोक्राउने तथा घाँस नखाने गरेको पशुपालक किसानहरु बताउँछन् । फक्ताङलुङ गाउँपालिक वडा नं. ७ का अध्यक्ष छेतेन शेर्पा पनि चाैँरी पालक किसानले यस्ताे समस्या भाेग्ने गरेकाे बताउनुहुन्छ ।

चाैँरीकाे चोरी निकाशी

ओलाङचुङगोलामा रहको तिप्ताला नाका बन्द भएपछि बर्सेनि अवैध रुपमा चीनतिर चाैँरी गाई  बिक्री हुँदै आएको खुलेको छ । यताकाे नाका बन्द भएपछि चाैँरी गाई ताथा याकहरु चीन तर्फ बिक्री हुन नसक्दा यसले समस्या निम्त्याएकाे प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले बताउनुभयो । ओलाङचुङगोला नाका हुँदै वर्षाैंँदेखि अवैध रुपमा चौँरी गाईहरु चीन तर्फ निकासी भएको अहिले आएर प्रमाणित भएको र यस विषयमा अनुसन्धान अगाडि बढ्ने प्रजिअ पोख्रेलले बताउनुभयो । 

नाका खुलाउन पहल

ओलाङचुङगोला मार्फत टिप्ताला भञ्ज्याङ नाका खुलाउन पहल भएको छ । साढे दुई वर्ष अगाडि बन्द भएको नाका खुलाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले बताउनुभयो । 

'गृह मन्त्रालयले नाका खुलाउन आवस्यक छ कि छैन भनि सोधेको थियो, सोही अुनसार आवस्यक रहेको भन्दै फक्ताङलुङ गाउँपालिकाबाट समेत पत्र आएर गृहमा पठाइसकेकाे छ', प्रजिअ पोख्रलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया