गठबन्धनले नागरिक र देशलाई के दिन्छ भन्ने अहिलेको मुख्य प्रश्न हो

 भदौ ६, २०७९ सोमबार १२:५२:० | प्रदीप पौडेल
unn.prixa.net

पार्टीले पनि चुनावको तयारी गरिरहेको छ भने हामीले पनि चुनावको तयारी गरिरहेका छौँ । अघिल्लो पटक म प्रदेश सभाको उम्मेदवार थिएँ । यसपटक प्रतिनिधि सभाको चुनाव लड्ने तयारी गरिरहेको छु । मेरो इच्छा र कार्यक्षेत्र बनाइरहेको तनहुँको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने मेरो चाहना हो । तर, यो त पार्टीले निर्णय गर्ने कुरा हो । पार्टीको इमानदार सिपाही भएको नाताले पार्टीले खटाए बमोजिम काम गर्ने सन्दर्भ त छँदैछ । मेरो जन्मभूमि, निरन्तर काम गरिरहेको क्षेत्र र इच्छा पनि तनहुँको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा लड्ने मैले प्रयत्न गरिरहेको छु । 

पार्टीको नीति, रणनीति अनि पार्टीले अख्तियार गरेको परिस्थिति यो सबैसँग जोडेर जे निर्णय हुन्छ त्यसलाई स्वीकार्ने त आफ्नो ठाउँमा छँदैछ । त्यहाँको अवस्था के छ भन्दा तनहुँ जिल्ला नेपाली कांग्रेसको उर्बर ठाउँ हो । धेरै नेताहरु हुनुहुन्छ । हामी पद प्राप्त गरेर केन्द्रीय समितिमा पुगेका हौँला तर पद नपाएका अनि केन्द्रमा नपुगेका पनि त्यहाँ थुप्रै नेताहरु हुनुहुन्छ । त्यसैले त्यो सबैको व्यवस्थापनको एउटा विषय छ । त्यो सबै विषयमा हामी छलफल गरिरहेका छौँ । 

चुनावमा त पार्टीका सबै नेता तथा कार्यकर्ता सँगसँगै जाने स्थिति भयो भने जित्ने परिस्थिति बन्ने हो । त्यसकारण लगानी मेरो मात्र होइन अरुको पनि छ । त्यसैले हामी आपसमा सरसल्लाह गरेर कसलाई प्रस्तुत गर्दा कांग्रेसले परिणाम प्राप्त गर्न सक्छ । कसको अलि पल्ला भारी छ त्यो सबै हेरेर चुनावसँग जोडेर उम्मेदवारी तय गर्ने गरी छलफल गरिरहेका छौँ । गठबन्धनसँग पनि विषय जोडिएको छ । हामीले त्यसका सन्दर्भमा पनि नेपाली कांग्रेसभित्र कसले उम्मेदवारी लिने, गठबन्धनलाई कसरी बलियो बनाउने, गठबन्धनलाई कसरी चित्त बुझाउने यो सबै ढङ्गमा हामीले छलफल अगाडि बढाइरहेका छौँ। 

गठबन्धनमा भागबन्डा सजिलो छैन । गठबन्धनको मुख्य विषय नै भागबन्डाको विषय हो । सैद्धान्तिक विषयमा सहमति गर्ने, साझा मुद्दा तय गर्ने सँगसँगै नेतृत्वमा अरु विषयमा एउटा सहमति गर्ने विषय ठूलो कुरा भएन । यो सिटको बाँडफाँट गर्ने भनेको सत्ताको बाँडफाँट गर्ने हो । भोलि सङ्घीय संसद्को गणितले सत्तासँग जोड्ने स्थिति बन्छ । हैसियत निर्माण गर्छ । त्यसकारण यो सङ्ख्या निर्धारण गर्ने कुरा अथवा यसमा बढी लिने प्रयास गर्ने कुरा स्वाभाविक छ । त्यसैले गठबन्धनको सबैभन्दा जटिल विषय नै यही हो । 

चुनाव त हामी सबै जित्नका लागि नै लडेका हौँ । कुनै पनि पार्टीको मत अर्को उम्मेदवार हुँदा शतप्रतिशत खस्दैन । बढीभन्दा बढी मत कसरी खसाउन सकिन्छ त्यसमा प्रयत्न गर्ने हो । त्यसैले जसको शक्ति सबैभन्दा बढी छ उसैले नेतृत्व गर्ने परिस्थिति बन्यो भने चुनावमा परिणाम ल्याउन सकिन्छ । शक्ति कसको बढी छ त्यसको मापन कसरी गर्ने भन्ने सन्दर्भमा भर्खरै भएको स्थानीय चुनावलाई एउटा आधार बनाउन सकिन्छ । 

अर्को भनेको २०७४ सालमा भएको सङ्घीय चुनावलाई पनि आधार बनाउन सकिन्छ । यस बाहेक पार्टीभित्रको व्यक्तित्वलाई पनि मापनको आधार मान्न सकिन्छ । अनि सम्बन्धित चुनाव क्षेत्रको सर्वेक्षणका आधारमा सबैभन्दा लोकप्रिय को हुनसक्छ त्यसलाई पनि आधार बनाउन सकिन्छ । यी विभिन्न आधारमा गठबन्धनको उम्मेदवारी चयन गर्ने परिस्थिति बन्छ भन्ने मलाई लाग्छ । सबै ठाउँमा एकदमै उपयुक्त, एकदमै परिणाममुखी भएर उम्मेदवारी घोषणा गर्न सकिन्छ भन्ने त छैन तर, अधिकतम ठाउँमा चुनाव कसरी जित्न सकिन्छ भन्ने कुरालाई मुख्य आधार बनाएर उम्मेदवारी तय हुन्छ । मिल्न सजिलो छैन तर अप्ठ्यारो छ भन्नुको मतलब मिल्नै नसक्ने भन्ने होइन । 

गठबन्धन बाध्यता 

नेपाली कांग्रेसले एक्लै चुनाव लड्न नसक्ने होइन । विगतमा एक्लै चुनाव लड्दै आएको पनि हो । २०७४ सालको चुनावमा जब एमाले र माओवादीबीच गठबन्धन भयो त्यहीँबाट गठबन्धनको संस्कृति सुरु भएको हो। यसले गठबन्धनमा आबद्ध दलहरु बलियो हुने गठबन्धनभन्दा बाहिर रहेका दलहरु कमजोर हुने स्थिति बन्यो । यसले ठूला दलहरु कांग्रेस तथा एमालेसँग अरु साना दलहरु मिल्न आइपुगे । यसले ठूला दलहरु आफू विरुद्धको गठबन्धनमा अरु दल नजाओस भन्ने पनि स्वार्थ रह्यो । अर्को भनेको हामी विरुद्धको गठबन्धन नबनोस् भन्ने पनि हो । सबै एक्लाएक्लै लड्ने परिस्थिति हुन्थ्यो भने त नेपाली कांग्रेसलाई सबैभन्दा बढी फाइदा हुन्छ । 

नेपाली कांग्रेस गठबन्धनका लागि अनिच्छुक हुँदै गर्दा अर्को गठबन्धन नेपाली कांग्रेस विरुद्ध बन्ने भयो । चुनाव भनेको मतको विषय मात्र नभएर रणनीतिको विषय पनि भयो । परिस्थिति तथा सत्तासँग पनि जोडिएको हुन्छ । नढाँटी भन्दा हाम्रा विरुद्ध २०७४ सालको जस्तो गठबन्धन बन्ने खतरा भएका कारणले पहिलो, दोस्रो दल बाहेक अरु दलहरु एक्ला एक्लै लड्न नचाहने, नसक्ने तथा उनीहरुको अस्तित्वको निम्ति गठबन्धन अनिवार्य भएका कारण नेपाली कांग्रेस गठबन्धनका लागि अनिच्छुक हुन सकेन । यो एउटा बाध्यता पनि हो । परिस्थितिवश नेपाली कांग्रेस सरकारमा गयो । सरकारमा जान गठबन्धन विना सम्भव थिएन।

नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने भएपछि गठबन्धनका अरु घटक कांग्रेसलाई प्रधानमन्त्री दिन तयार भए । नेतृत्व गरिरहेको पार्टी गठबन्धनको निम्ति अनिच्छुक हुँदै गर्दा त्यसले नकारात्मक सन्देश जाने र गठबन्धनमा रहेका अरु दलहरु नेपाली कांग्रेससँग चिढिने भएका कारण पनि गठबन्धन बाध्यता भयो । 

यो पार्लियामेन्ट सिस्टम भएको हुनाले यसमा क्याबिनेट कमिटमेन्ट आउनु पर्छ । गठबन्धन के का लागि गरिएको हो । भोलि बन्ने सरकारले के काम गर्छ ? गठबन्धन गरेर सरकारमा किन जान खोजेको ? प्रधानमन्त्री, मन्त्री किन हुन खोजेको ? त्यो कुरा प्रष्टसँगले आउनु पर्छ । अहिले त हामी कांग्रेस कम्युनिस्ट भएर प्रतिस्पर्धा गरिरहेका छैनौँ । राजनीतिक सिद्धान्त, राजनीतिक व्यवस्थासँग जोडेर हेर्दा हामी सबै एउटै भएको छ । तर, भोलि नेपाललाई अगाडि बढाउने सन्दर्भमा हाम्रा योजना कार्यक्रमका सन्दर्भमा हाम्रा बीचमा मतभिन्नता छैन त ? कुनै पनि विषयलाई परिभाषित गर्ने सन्दर्भमा हाम्रा बीचमा कुनै अन्तरविरोध छैन त  ? अब यो कुरा चाहिँ जोडदार ढङ्गले आउँछ । 

खासगरी गठबन्धन गणितमा मात्र आधारित भयो । कसैलाई हराउनका लागि, सत्तामा पुग्नका लागि यो एउटा गणितमुखी गठबन्धन भयो । यो गठबन्धनले नागरिकलाई र देशलाई के दिन्छ भन्ने प्रमुख प्रश्न छ ।गठबन्धनसँग जोडेर सबैभन्दा धेरै भनिएको स्थिरता हो । तर, २०७४ सालमा भएको गठबन्धनसँग जोडेर हेर्दा चाहिँ गठबन्धनले झन धेरै अस्थिरता ल्यायो । त्यसकारण अहिले नेपाली कांग्रेससँग भएको गठबन्धनले पनि स्थिरता दिन सक्छ भन्ने कुराको ग्यारेन्टी कसरी दिन सकिन्छ । 

नमिल्नुभन्दा मिल्नु राम्रो हो । तर, त्यो के का लागि भन्दा स्थिरताका लागि । कोही अमूक व्यक्ति मन्त्री, प्रधानमन्त्री बनाउनका लागि, राजनीतिक दलहरुलाई सत्तामा पुर्याउनका लागि हुने कुराले त जनतालाई गठबन्धनले खासै असर गर्दैन । त्यसकारण गठबन्धन गर्ने पक्षले खास मनन गर्नुपर्ने विषय के हो भन्दा यसलाई जनतासँग कसरी जोड्ने ? जनताको स्वार्थसँग कसरी जोड्ने ? खास एजेण्डाहरु के हुन त ? हामी किन मिलेको हो त ? त्यो मिलेको आधार हामीले प्रष्ट गर्न जरुरी छ । हामीले भोलि हाम्रो क्याबिनेट कमिटमेन्ट के हो त ? 

मानौँ चुनावमा हामी गठबन्धन बनाएर गयौँ र जित्यौँ भने हामीले जितेपछि सँगै बसेर गर्ने के हो ? भ्रष्टाचार कसरी अन्त्य गर्न सक्छौँ ? सुशासन कसरी कायम गर्न सक्छौँ ? विशेषगरी नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको छ । नैतिकताविहीन राजनीतिलाई हामीले कसरी सही दिशामा ल्याउन सक्छौँ ? नैतिकतामा आधारित भएर हामी कसरी अगाडि बढ्न सक्छौँ ? समृद्धिको आधार निर्माण गर्ने सन्दर्भमा हामीसँग दृष्टिकोणहरु के के छन् ? यसमा प्रष्ट ढङ्गले आउनु पर्छ । 

यसमा त अझ के हुन्छ भने सपना बाँडेर मात्र हुँदैन । २०७४ सालमा गठबन्धन गर्ने नेताहरुले एकदमै धेरै सपना बाँड्नु भयो । त्यो कुरा परिणाममुखी हुन सकेन । त्यसैले कुनै पनि विषय गर्छु भन्दै गर्दा कसरी गर्छु भनेर पनि भन्न सक्नु पर्यो । त्यसका चरणहरु के हुन् । लक्ष्यमा कसरी पुग्छौँ । 

दलप्रतिको विश्वास घट्दो

नेपालमा जनताहरुले राजनीतिक दलहरुलाई विश्वास गर्ने आधार एकदमै खस्कँदै गइरहेको छ । विश्वास आर्जन गर्न सक्ने परिस्थिति निर्माण गर्नका निम्ति हाम्रा योजनाहरु के हुन् ? त्यो कसरी व्यावहारिक छ ? त्यसको साधन, श्रोत के हो ? हाम्रो आर्थिक उन्नतिको बाटो के हो ? हाम्रा तमाम समस्याहरुलाई भाषणले मात्र सम्बोधन गर्यो । कार्यक्रमले, कार्ययोजनाले वा सत्तामा गइसकेपछि कार्यान्वयन हुने आधार के हो ? त्यो कुरा हामीले प्रष्ट्याउन सक्नु पर्छ । अहिलेको गठबन्धनमा त्यो कमजोरी देखिएको छ । त्यसैले गठबन्धनमा आबद्ध दल तथा नेताहरुले गठबन्धन जनताका लागि यसकारण हो, मतदाताका लागि यसकारण हो, लोकतन्त्रका लागि यसकारण हो भनेर समग्र परिस्थितिलाई आधार बनाएर हामीले यसरी स्थिरता दिन सक्छौँ भनेर प्रष्ट ढङ्गले एउटा खाका प्रस्तुत गर्नसक्नु पर्छ । एउटा श्वतेपत्र जारी गर्न सक्नुपर्छ । नत्र गठबन्धन जित्नका लागि मात्र हो भन्ने बुझिन्छ।

आन्तरिक रुपमा अहिले अभ्यास भइरहेअनुरुप साझा एजेण्डाको विकास गर्नेगरी तयारी गरिहेका छौँ । गठबन्धनमा आबद्ध दलहरुको प्रतिबद्धताका रुपमा केही विषयहरु बाहिर आउँछन् । ती विषयहरु कति व्यावहारिक छन् ? तिनका लागि कति विश्वासिलो आधार निर्माण हुनसक्छ ? त्यो भने आइसकेपछि मात्र थाहा हुने कुरा भयो । तर, मुख्य गरी गठबन्धनमा आबद्ध दलहरुले फलानो चुनाव क्षेत्रमा फलानो पार्टीको फलानोले टिकट पाउनुभयो भन्नेमा सीमित हुनुहुँदैन । 

हामी मिलेर चुनाव लड्यौँ । चुनाव लड्दा फलानो फलानो चुनाव क्षेत्रमा यो ढङ्गबाट प्रतिनिधित्व गर्ने परिस्थिति निर्माण गरेका छौँ । त्यो के का लागि हो भन्दा यो प्रतिबद्धता पूरा गर्नका लागि हो भनेर साझा एजेण्डा निर्माण गर्नुपर्ने हुन्छ । 

जनताले भोगिरहेका दिनदैनिकका समस्यालाई जोडेर स्थिरता दिने पक्षमा के गर्न सक्छौँ ? अहिले त फेरि के जटिलता हुनसक्छ भने गठबन्धनले स्थिरता दिन्छ भन्ने आम मानिसलाई विश्वास थियो । २०७४ सालको गठबन्धनले त्यसो भएन । त्यसकारण यसलाई पनि चिर्न सक्नुपर्छ । 

अहिलेको गठबन्धनले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने सन्दर्भसँग जोडेर आशा, अपेक्षा गर्न सकिन्न । तर दिनदैनिक समस्याको समाधान गर्ने सम्बन्धमा, सुशासन कायम गर्ने सवालमा सरकारले अपेक्षाकृत प्रभावकारिता बढाउन सकेन । बढाउनु पर्छ भनेर हामीले हाम्रो नेतृत्वलाई पनि भनिरहेको अवस्था हो । 

व्यवस्था फेरियो, व्यवस्थापन फेरिएन 

पुराना र युवा नेतामा परीक्षण भइसकेको र हुन बाँकी भनेर जोडेर हेर्ने गरिएको छ । जिब्रोले जसरी नयाँ स्वाद खोज्छ । राजनीतिले पनि स्वाभाविक रुपमा नयाँ नेतृत्व खोज्छ । २०४८ सालपछि अहिलेसम्म सात/आठ जना एउटै नेताहरुले नेतृत्व गरिरहनु भएको छ । अब अपेक्षाकृत रुपले डेलिभर हुन सकेन । नेपालको राजनीतिले जनताका खास समस्याहरुलाई सम्बोधन गर्न सकेन । व्यवस्था फेरियो । व्यवस्थापन फेर्न सकिएन । यो कुरा व्यापक रुपले आइरहेको छ । यो अस्वाभाविक हो भनेर उहाँहरुले पनि भन्न सक्नुहुन्न । यसमा निकासको प्रक्रिया भनेको पार्टीको महाधिवेशनहरु हो । तर, महाधिवेशनमा पुरानै नेतालाई नेतृत्वमा राख्ने, टिकट दिने ठाउँमा पुराना नेतालाई राख्ने अनि तपाईँ बाहेक अरुलाई टिकट दिनुस् भन्दा उहाँहरु मान्नुहुन्न । त्यसकारण यसमा सुधार्नु पर्ने भनेको पार्टी नै हो । 

यो बहुदलीय प्रणाली हो । त्यसकारण एउटा पार्टी पूर्ण स्वरुपमा सुधारिएको कसरी हुनसक्छ, कस्तो पार्टीलाई एकदमै सुधारिएको मान्न सकिन्छ त भन्दा त्यसको आन्तरिक लोकतन्त्र एकदमै परिष्कृत ढङ्गको हुनुपर्यो । त्यसले नेतृत्वलाई पनि चेक एण्ड ब्यालेन्स गरेको हुनुपर्यो । हाम्रो समानुपातिक प्रणालीमा नेतृत्व एकदमै शक्तिशाली छ । उसलाई नरिझाएसम्म केही पनि प्राप्त गर्न सक्ने परिस्थिति छैन । 

कुनै पनि पार्टी सरकारमा किन जाने त भन्दा सरकारमा प्रधानमन्त्री भएर पार्टीको कोही नेता जानुभयो । पार्टीले के गर्न सक्नुपर्छ भने तिमीलाई सरकारमा यो काम गर्नका निम्ति पठाइएको हो भनेर दस्ताबेज दिनसक्नु पर्यो । तपाईँले यो काम यति समय भित्र पूरा गर्नुस् नत्र हामी तपाईँलाई फिर्ता बोलाउँछौँ भनेर भन्न सक्नु पर्छ । यसकारण पार्टीभित्र सुदृढीकरणको धेरै आवश्यकता छ । 

हामीले आम रुपमा देशको नेतृत्व गर्न रोजेको पार्टी कस्तो हुनुपर्छ भन्दा त्यो पार्टी पूर्णरुपमा अद्यावधिक भएको हुनुपर्छ । त्यहाँ प्रश्न गर्ने भन्दा पनि उसले हरेक प्रश्नको उत्तर दिएको अवस्था हुनुपर्छ । त्यसकारण हामीले देश पूर्णरुपमा सुधार गर्ने पार्टी बनाउन सकेका छैनौँ । तर, त्यसमा बहस भइरहेको छ । 

अहिलेको चुनावमा पनि मलाई के लाग्छ भने मुख्य नेतृत्वलाई बिदा गर्ने गरी टिकट वितरण हुने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन । तर, पनि पहिले अवसर पाइसकेका नेतालाई यस पटक भने गाह्रो छ । नयाँले त मैले मौका पाएको छैन अब गएँ भने, अवसर दिनुभयो भने यो यो गर्न सक्छु भन्ने उसको एक पटकको कुरालाई पत्याइन सक्छ । विश्वास गरिन सक्छ । अहिले २०४८ सालमा उठ्नु भएको कोही नेता अहिले पनि उठ्दै हुनुहुन्छ । कोहिले अहिलेसम्म नहारेका कारण सुरक्षित ठान्नु भएको छ । तर, कसैले म्यान्डेट प्राप्त गरिसकेपछि उहाँलाई तपाईँ बिदा हुनुस्, तपाईँ अलोकप्रिय हुनुहुन्छ भनेर भन्न पनि मिल्दैन । 

तर उहाँहरु नेतृत्वमा भएका कारण आफूले जित्ने कुराको मात्र सुनिश्चितता भएर भएन । कस्तो रणनीति अख्तियार गर्यो भने पार्टीले जित्छ, कस्तो उम्मेदवार दियो भने जिताउन सजिलो हुन्छ भन्ने कुरा आफू नेतृत्वमा हुँदा पार्टीले धेरै जित्यो भने उहाँहरुको सफलता फेरि पनि देखिन्छ । त्यसैले यो बेलामा पहिले परीक्षण भएका नेताहरुलाई उम्मेदवार बनायो भने जनताले भोट हाल्दैनन् । त्यसैले नयाँ र परीक्षण नभएका मान्छेलाई पार्टीले प्रस्तुत गर्न सक्यो भने जनताले भोट हाल्छन् जितेर आउँछन् । 

व्यक्ति जित्दा उसको सफलता त हुँदै हो, यो भनेको टिकट दिने पार्टीको नेतृत्व गर्ने नेताको पनि सफलता हो । त्यसकारण यो बेलामा जो नेता नेतृत्वमा हुनुहुन्छ उहाँहरुले आफ्नो अधिकारलाई जबरजस्ती प्रयोग गर्नुभन्दा परिस्थिति हेरेर नयाँ परीक्षण नभएकालाई टिकट दिने गर्नुपर्छ । यो कुरा नेतृत्वले बुझेका कारण यस पटक नयाँ मान्छेले धेरै टिकट पाउँछन् । किनकि मतदाताको आकर्षण त्यता छ भन्ने कुरा आमरुपमा गइसक्यो । 

हाम्रा नेताहरु पहिले मौका नपाएर जनता भएजस्तो

उमेरको आधारमा भन्दा मौका पाएको र नपाएको आधारमा हेरिनुपर्छ भनेर मैले अघि नै भनेँ । नयाँ विषय के हुनसक्छ भन्दा पनि हामीले भोगिरहेको विषय के हो भनेर बुझ्नु पर्छ । हामीले एकदमै ठूलो कुरा गर्नु पनि जरुरी छैन । सुशासन दिने सन्दर्भमा हामीले केही सुधार गर्नुपर्ने जरुरी देखिन्छ । हामीले व्यवस्था फेर्यौँ तर व्यवस्थापन गर्न सकेनौँ । अघिल्लो व्यवस्थामा जे परिस्थिति थियो अहिले पनि त्यही परिस्थिति छ । अब यहाँ भित्रको व्यवस्थापन बदल्न जरुरी छ । सुशासन दिने सन्दर्भमा, भ्रष्टाचार न्यून गर्ने सन्दर्भमा, जनजीविकाका मुद्दालाई सरलीकृत गर्ने सन्दर्भमा, अर्थिक वृद्धि गर्ने सन्दर्भमा केही नयाँ ठोस विषयहरु ल्याउनु जरुरी छ । 

छिमेकीसँगको सम्बन्धका सन्दर्भमा, अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा, राष्ट्रियता बचाउने सन्दर्भमा हामीले केही ठोस विषय ल्याउन जरुरी छ । यसमा विषय थाहा नभएको होइन । प्रतिबद्धता नभएको हो । हामीले राजाको ठाउँमा राष्ट्रपति ल्यायौँ । सामान्य कुरा भनौँ न राष्ट्रपति राजा जस्तै गरी किन हिँड्नु पर्यो त ? मैले अहिलेको राष्ट्रपतिलाई भन्न खोजेको होइन फेरि । त्यहाँ गएपछि त्यस्तै हुँदो रहेछ कि । यत्रो सङ्घर्ष गरेर, वषौँ जेल परेर आउनु भएका नेताहरु ठाउँमा पुगेपछि किन त्यस्तो हुनुहुन्छ । उहाँहरुको सङ्घर्षकाप्रति सम्मान छ । तर, सम्मान कायम राखिराख्न पनि तपाईँको व्यवहार त्यस अनुरुप हुनुपर्यो नि । तपाईँ त मौका नपाएर पो जनता हुनु भएको रहेछ, न्यायकाप्रति बोल्नु भएको रहेछ, मौका पाएपछि त तपाईँ पनि उस्तै हुनुहुँदो रहेछ नि भन्ने स्थिति उहाँहरुले निर्माण गर्नुभयो । 

नेताहरुलाई अपमान गरेको होइन । तर, देखियो के भन्दा फरक केही देखिएन । सत्तामा गइसकेपछि ऊ पनि राजै बन्न चाहने । सामन्त व्यवहार गर्ने । आफूले उठाएको सबै कुरा बिर्सने । सत्ताको मोहले उसलाई एकदमै धेरै गाँज्ने । ठाउँमा पुगेपछि उसले आफन्त बाहेक कोही पनि नदेख्ने । आफ्नो सुविधा बाहेक अरुको निम्ति केही नगर्ने । कुर्सी किन त्यस्तो हुन्छ ? त्यहाँ गएपछि किन त्यस्तो हुन्छ । २० वर्ष अगाडिको हाम्रो नेताहरुको भाषण सुन्नुस् । पञ्चायतको बेलामा उहाँहरुले गरेको त्याग र योगदानलाई हेरौँ । एउटा नागरिकले त्यसो पनि गर्न सक्छ ? एउटा मान्छेको त्यति धेरै आँट पनि हुनसक्छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

यो देशको परिवेश, परिस्थिति, केहीले मात्र यो देश चलाएको जस्तो । तिनीहरुकै इशारामा देश चले जस्तो । जुनै पार्टी आए पनि देशको निम्ति धेरै महसुस हुने गरी काम गर्न नसकेको परिस्थिति देख्दा चाहिँ शङ्का गर्ने, विश्वास नगर्ने परिस्थिति बढेको छ । तर, यद्यपि सुधारका विषय नउठेका होइनन् ।  

(पौडेलसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असोज ५, २०७९

प्रदीप पौडेल

प्रदीप पौडेल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया