देशका पश्चिमी क्षेत्रमा ठूलो वर्षा : कर्णाली तथा महाकाली नदीमा जलसतह बढ्यो

 असोज १, २०७९ शनिबार ६:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।

पश्चिमी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित वाग्मती, प्रदेश एक, मधेस प्रदेशमा पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिउँसोपख भारी वर्षाको सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाले आज दिउँसोसम्म नै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । निरन्तरको वर्षाले बाढी/पहिरोको जोखिम पनि बढेको भन्दै मौसमविद्ले जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले निरन्तरको वर्षाले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने जनाएको छ । ट्राफिक प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पानी परेको भए पनि अहिलेसम्म मुख्य राजमार्गमा गाडीको आवागमन रोकिएको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया