अमेरिकामा हुने मातृ मृत्युदरमध्ये ८० प्रतिशत घटाउन सकिने एक प्रतिवेदनको निष्कर्ष

 असोज ५, २०७९ बुधबार ८:१०:२४ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

अमेरिकामा अहिले भइरहेको मातृ मृत्युदरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु रोक्न सकिने उल्लेख छ ।

सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा कुल गर्भवतीमध्ये २२ प्रतिशतले सुत्केरी हुनु अगाडि ज्यान गुमाउने गरेको देखिएको छ । त्यसैगरी २५ प्रतिशत गर्भवतीको सुत्केरी भइरहेका बेला वा सुत्केरी भएको सात दिनभित्रमा ज्यान जाने गरेको छ । बाँकी ५३ प्रतिशतले सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा ज्यान गुमाउने गरेका अध्ययनको निष्कर्ष छ ।

अत्याधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको अवस्थीति, मुटु तथा मानसिक समस्या ज्यान गुमाउने मुख्य कारण रहेका छन् । सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणलाई पर्याप्त रुपमा घटाउन सकिने बताउनुभयो । त्यसका लागि स्वास्थ्य संरचना र चेतना विस्तारका काम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । ‘मातृ मृत्युका कारणहरु घटाउन सकिने खालका छन्, उहाँले भन्नुभयो,‘ त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्छ ।’

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया