घटस्थापनामा शक्तिपीठमा दर्शनार्थीको घुइँचाे (फाेटाेसहित)

 असोज १०, २०७९ सोमबार १०:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

दशैँको पहिलो दिन प्रसिद्ध धार्मिकस्थल बाग्लुङ कालीकामा मन्दिरमा भक्तजनको भिड । यस मन्दिरमा दशैँ र चैते दशैँमा भक्तजनको निकै ठूलो भिड लाग्ने गर्छ ।

काठमाण्डाै - आजदेखि नवरात्रि सुरु भएको छ । 

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ ।

नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । काठमाण्डौका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ । यस अवसरमा भद्रकाली, सङ्कटा, दक्षिणकाली, रक्तकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालीका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले घटस्थापनाको दिन सोमवार बिहान पोखरामा निकालेको नवदुर्गा शोभायात्रा ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीककाे रूपमासमेत मनाउने गरिन्छ। 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया