बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

 असोज ११, २०७९ मंगलबार १४:३८:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : युनिसेफ पाकिस्तान

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । 

अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ । 

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले पाकिस्तान निकै समस्यामा रहेको भन्दै दुःखमा परेको बेला अमेरिकी सरकार पाकिस्तानको साथमा रहेको बताउनुभएको छ । पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध आर्थिक सहयोगमा मात्रै सीमित नरहेको पनि उहाँले बताउनुभएको छ । 

यसैबीच अमेरिकाले पाकिस्तानलाई लडाकु विमान एफ–१६ को सुरक्षा प्रणाली सुधार्न भन्दै ४५ करोड डलर सहयोग गरेपछि भारत अमेरिकासँग चिढिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सार्वजनिक कार्यक्रममा अमेरिकी सहयोगबारे प्रश्न उठाउनुभएको छ । तर अमेरिकाले भने भारत र पाकिस्तानसँगको सम्बन्ध उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पाकिस्तानका विमानलाई गरिएको सहयोग आतङ्कवादीसँगको लडाइँका लागि मात्रै भएको दाबी गर्दै यसबाट भारत चिढिनुको कुनै कारण नभएको बताउनुभएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया