जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको बचत रकम फिर्ता

 असोज १४, २०७९ शुक्रबार १४:३:१० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । झन्डै एक हजार सात सय जनाले जम्मा गरेका बचत रकम सरकाले फिर्ता गरेको जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख राजेन्द्रबहादुर बोहराले बताउनुभयो ।

२०७६ साल चैत १२ गते जिल्ला हुलाक कार्यालयमा बचत भएको रकम हिनामिना भएको खुलेको थियो । हुलाक कार्यालयमा बचत खाता खोली स्थानियवासीले रकम जम्मा गर्दै आएका थिए । बचत रकम हिनामिनाको आरोप लागेका जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नाममा विशेष अदालतमा मुद्दा चलिरहेको छ । कडायत १५ लाख र उपाध्याय १२ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

फिर्ता आएको रकम छिट्टै सबै बचतकर्ताको खातामा पठाउने कार्यालय प्रमुख बोहराले बताउनुभएको छ । 

सुर्मा गाउँपालिका वडा नम्बर २ का खडकबहादुर बोहराले आफ्नो खेतबारीमा फलेको आलु, चोतो, मुला, करेला, सिमी, भटमासलगायतका गेडागुडी तथा घिउ, माेही, दही बिक्री गरेर जम्मा गरेको रकम जिल्ला हुलाक कार्यलयमा बचत गर्दै जानुभयो । छोराछोरी एसईई पास भएपछि सहरतिर पठाउनु पर्ला भनेर बोहराले २०६८/६९ सालदेखि जिल्ला हुलाक कार्यालयमा रहेको बचत हुलाक कार्यालयमा खाता खोली रकम जम्मा गर्न थाल्नुभयाे । उहाँले झन्डै ११ लाख रुपैयाँ हुलाक कार्यालयबाट फिर्ता लिन बाँकी छ । 

उहाँले भन्नुभयाे, झन्डै तीन वर्षदेखि रकम फिर्ता लिन नसकेर निराश भइसकेकाे थिएँ । तर बुधवार सरकारले हिनामिना भएको रकम फिर्ता गरेको खबरले दङ्ग भएँ । अहिले भने निकै खुसी छु । 

यस्तै २०६७ सालमा कैलालीकाे चौमाला चोकका शिवराज पन्तले जिल्ला हुलाक कार्यालयमा छोरा त्रिलोक, छोरीहरू सुनिता र ममताको नाममा नाबालक खाता खाेल्नुभयाे । उहाँले श्रीमती र आफ्नो नाममा संयुक्त खाता चलाउँदै आउनुभएकाे थियाे । सदरमुकाम चैनपुरमा होटेल व्यवसाय गर्दै आउनुभएका पन्तले व्यापारबाट जम्मा भएको रकम हरेक दिन बेलुकीपख खातामा जम्मा गर्दै जानुभयाे । उहाँले ती खाताबाट झन्डै २२ लाख रुपैयाँ फिर्ता लिन बाँकी छ । उहाँले पनि पैसा फिर्ता पाउनका लागि निकै दाैडधुप गर्नुभयाे । तर बुधवार रकम फिर्ता भएकाे खबरले उहाँ दङ्ग पर्नुभयाे ।  

यस्तै जयपृथ्वी नगरपालिका ४ की ७६ वर्षीय धन पाध्या र उहाँकी श्रीमती गुनकेशरीले बिहान/बेलुका गिट्टी कुटेर, खाद्यान्न बेचेर र दुग्धजन्य पदार्थ बिक्री गरेर झन्डै १० लाख रुपैयाँ जम्मा गर्नुभएकाे थियाे । उहाँहरू पनि पैसा नपाइने हाे कि भनेर चिन्तित हुनुहुन्थ्याे । तर बुधवार सरकारले बचतकर्ताकाे खातामा पैसा फिर्ता पठाएपछि उहाँहरू पनि खुसी हुनुभयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया