युक्रेनका ४ वटा भू–भाग रुसमा गाभिएकाे पुटिनकाे घाेषणा

 असोज १४, २०७९ शुक्रबार १९:४६:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । केहीबेर अघि मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गर्नुभयो । रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो । रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू–भागका लागि लडेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको पनि बताउनुभयो ।

सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया