युक्रेनका चार भू–भाग गाभेको रुसको घोषणापछि युरोपेली सङ्घद्वारा भर्त्सना

 असोज १५, २०७९ शनिबार ७:९:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ ।

युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् ।

परिषद्ले निकालेको विज्ञप्तिमा युक्रेनी भू–भागलाई गाभ्ने रुसको कदमलाई गैरकानुनी उल्लेख छ । साथै विज्ञप्तिमा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तको उल्लङ्घन गरेर रूसले विश्वव्यापी सुरक्षालाई खतरामा पारिरहेको उल्लेख छ । यसअघि हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेत्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्नुभएको थियो ।

युक्रेनले आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि सङ्घर्ष निरन्तर राख्ने जनाएको छ । सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो । त्यसबेलामा भएको जनमत सङ्ग्रहको पनि आलोचना गरिएको थियो । रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको बताउनुभएको छ । सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया