बिजुली निर्यात १ अर्ब युनिट नाघ्यो, प्राधिकरणले झन्डै ८ अर्ब रुपैयाँ कमायाे

 असोज २५, २०७९ मंगलबार १७:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतर्फको बिजुली निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि आज मङ्गलवारसम्म अर्थात् असाेज २५ गतेसम्ममा एक अर्ब ३० लाख युनिट बिजुली निर्यात भएको हो ।

देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुङ्गा हो’, उहाँले भन्नुभयो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी  दैनिकरूफमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा बिजुली बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली निर्यातबाट झन्डै १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट सात रुपैयाँ ९१ पैसा रहेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया