राष्ट्र सङ्घमा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतद्वारा आलाेचना

 असोज २७, २०७९ बिहीबार १६:१८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई

संयुक्त राष्ट्र सङ्घको महासभामा रुसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको कडा शब्दमा आपत्ति जनाएको छ । 

रुस–युक्रेन युद्धलाई लिएर बुधवारको महासभा बैठकमा मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कुटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो ।  मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कुटनीतिज्ञले रुसले युक्रेनी भू–भाग कब्जा गरेझैँ भारतले पनि पाकिस्तानी भूमि कश्मीर कब्जा गरेको आरोप अप्रत्यक्षरूपमा लगाएपछि संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भारतविरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताउनुभयो ।  

जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग हो र त्यो सधैँ भारतमा नै रहने बताउँदै उहाँले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गर्नुभयो ।  

संयुक्त राष्ट्र सङ्घले चार युक्रेनी क्षेत्रलाई रुसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्तावमाथिको मतदानका बेला अनुपस्थित रहेको भारतले राष्ट्र सङ्घका सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिएको छ । 

बुधवार भएको मतदानमा एक सय ४३ देशले प्रस्तावको पक्षमा आफ्नो मत दिएका थिए । भारतसहित ३५ देश भने मतदानका बेला अनुपस्थित रहेका थिए । प्रस्तावको विपक्षमा पाँच देशले मतदान गरेका थिए । यद्यपि भारतले युक्रेनमा नागरिक पूर्वाधारलाई निसाना बनाएर सर्वसाधारणको ज्यान जाने गरी द्वन्द्व बढेकामा गहिरो चिन्ता व्यक्त गरेको छ । 

युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कुटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा पनि भारतले जोड दिएको छ । ‘तत्काल युद्धविराम र द्वन्द्वको समाधान गर्न शान्ति वार्ताको शीघ्र पुनः सुरुवातका लागि इमानदार प्रयास हुनुपर्छ, तनाव कम गर्ने उद्देश्यले हुने सबै प्रयासलाई भारत समर्थन गर्न तयार छ’, भारतीय स्थायी प्रतिनिधिले भन्नुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया