नवौं राष्ट्रिय खेलकुद : भाराेत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

 असोज ३०, २०७९ आइतबार १८:१३:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।

पोखरा उद्योग वाणिज्य संघमा आइतवारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेस प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् ।

एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् । पहिलो दिन पुरुष ५५, महिला ४९ र पुरुष ६१ केजी तौल समूहका खेल हुने जनाइएको छ ।

त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एसियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए ।

कार्यक्रममा स्वागत नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र संचालन सुशन श्रेष्ठले गरेका थिए । शनिवार नै सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको हो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया