एमालेले गरेकाे गठबन्धन अपवित्र, हाम्राे गठबन्धन पवित्र : अध्यक्ष नेपाल

 कात्तिक १, २०७९ मंगलबार १५:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ललितपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको दाबी गर्नुभएकाे छ । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको जिकिर गर्नुभयो । 

सत्तारूढ गठबन्धनले आज मङ्गलवार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाे सत्तारूढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो । 

उहाँले भन्नुभयो, ‘गठबन्धनबारे प्रश्न उठेकाे छ । विपक्ष एमालेले बनाएकाे गठबन्धन अपवित्र हाे । हाम्राे सत्तारूढ गठबन्धन चाहिँ पवित्र हाे । हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । दुई–दुई पटक संविधान कुल्चने काम भएको थियो, देशलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ, देशको संविधान जोगायौँ, लोकतन्त्र पनि जोगायौँ । यसरी पवित्र उद्देश्यका साथ हामीले गठबन्धन गर्‍याैँ ।’

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । गठबन्धनको तर्फबाट आउँदाे चुनावका लागि साझा प्रतिबद्धता पत्र कात्तिक २ गते (भोलि) सार्वजनिक हुने भन्दै उहाँले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले देशको शासन सञ्चालनमा त्रुटि, कमि रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया