आर्चरीमा गण्डकी टिम च्याम्पियन, आर्मी दोस्रो, एपीएफ तेस्रो

 कात्तिक २, २०७९ बुधबार १६:७:२७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो ।

नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुदूरपश्चिमले १ रजत र २ कास्य गरी ३ पदक जित्दा छैटाैँ बन्याे । बाग्मती प्रदेशले १ कास्य मात्र जित्याे । लुम्बिनी र एनआरएनए पदकविहीन रहे । यद्यपि सबै टिमले सबै विधामा सहभागिता जनाएका थिएनन् ।

विजयी टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

१३ विधाको खेलमा हिजाे मङ्गलवार ७ स्वर्ण र आज बुधवार ६ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेस र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउन्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिस्पर्धा गराइएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया