महिला हक्कीमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक

 कात्तिक २, २०७९ बुधबार १६:४८:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरामा आज बुधवार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे ।

त्यसअघि खेलको नवौँ मिनेटमा आर्मीकी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । 

यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कास्य पदक जितेको छ । आजै बिहान भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो ।

सुदूरपश्चिमका लागि खेलको १० औँ मिनेटमा निलम जोशी र २६ औँ मिनेटमा डम्बरा थापाले गोल गरिन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया