कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभाका एक सय ६५ सिटमध्ये मधेसमा मात्रै ३२ सिट छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा मधेसको ३२ सिटमा अहिलेको जनता समाजवादी पार्टी (जसपा) त्यस बेलाको सङ्घीय समाजवादी फोरमले नाै तथा अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यस बेलाको राष्ट्रिय जनशक्ति पार्टीले १० सिट जितेको थियो । चुनावमा फोरम र राजपाबीच गठबन्धन भएको थियो । त्यस बेला एक्लै चुनावमा प्रतिस्पर्धा गरेकाे कांग्रेसले ६ सिट जितेको थियो भने एमालेले दुई र माओवादीले पाँच सिट जितेको थियो । एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै प्रदेश सभातर्फ फोरमले सबैभन्दा बढी २९ र राजपाले २५ सिट जितेर प्रदेश सरकार बनाएका थिए । एमालेले १४, माओवादीले छ, कांग्रेसले आठ र स्वतन्त्रले एक सिट जितेका थिए ।
तर मधेसका राजनीतिक दलहरूमा देखिएको स्वार्थका कारण जुन कुनै राष्ट्रिय दलहरूसँग नजिक हुने र सत्तामा जाने प्रवृत्तिले यस पटक मधेसमा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । मधेस केन्द्रित दलहरू कमजोर हुँदा स्वाभाविक रूपले राष्ट्रिय दलहरू बलिया देखिएका छन् । अन्तिम अवस्थामा आएर सिट बाँडफाँटमा कुरा नमिल्दा बनेको जसपा र एमाले गठबन्धन अनि लोसपा र सत्ता साझेदार दलबीच बनेको गठबन्धनले मधेसवादी दललाई मधेसमा झनै कमजोर बनाएको छ ।
यसको उदाहरणका रूपमा गएको पालिका चुनावलाई पनि लिन सकिन्छ । मधेसमा रहेका एक सय ३६ पालिकामध्ये ४६ पालिका जितेर कांग्रेस पहिलो बन्यो । एमाले ३० पालिका जितेर दोस्रो बन्यो । तर मधेसमा मधेसकै राजनीति गर्ने भनेर चिनिएको जसपाले २५ पालिका जितेर तेस्रो र लोसपाले १४ पालिका जितेर चौथो शक्तिका रूपमा रह्यो । त्यस्तै माओवादी नाै, एकीकृत समाजवादी छ, भर्खर–भर्खर चर्चामा आएको सीके राउतको जनमत पार्टी दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) एक, विवेकशील साझा पार्टीले एक र स्वतन्त्र दुई पालिकामा निर्वाचित भए ।
पालिका चुनावको परिणामले कमजोर देखिएका मधेसवादी दलहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा कस्तो परिणाम ल्याउँछन् भन्ने चासो छँदैछ । साथै अन्तिम अवस्थामा भएको गठबन्धन अदलबदलले पनि कस्तो नतिजा आउला भन्ने चासोले पनि मधेसको चुनावमा कौतुहल थपेको छ । त्यसमा अझ मधेसका चर्चित अनुहारहरू नै यस पटक एक–अर्काका प्रतिस्पर्धी बनेकोले पनि मधेसको चुनावमा रौनक पनि थपिएको छ । यही रौनक र चासोको रूपमा हेरिएको मधेसको चुनावमा एकै क्षेत्रबाट उम्मेदवारी दिएका शीर्ष नेताहरूको चुनावी क्षेत्रको अवस्था यस्तो छ ।
मधेस केन्द्रित दलहरू आपसमा विभाजन हुँदा त्यसको असर निर्वाचन क्षेत्रमा पनि देखिएको छ । सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका दुई समाजवादी दल अर्थात् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादव प्रतिस्पर्धा गरिरहनुभएको छ । दुवै पार्टी सत्ता गठबन्धनमा भए पनि गठबन्धनले यादवलाई समर्थन गर्ने भनिसकेको छ ।
त्यस्तै यसै क्षेत्रबाट एमालेसँग गठबन्धन गरेको अर्को समाजवादी अर्थात् जनता समाजवादी पार्टी (जसपा) का राजनारायण साह पनि प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैले पनि मधेसको सर्लाही २ मा हुने चुनावी प्रतिस्पर्धा निकै रोचक हुने हुँदा यसलाई आम चासोको रूपमा हेरिएको छ ।
२०७४ सालको चुनावमा यादवले यसै क्षेत्रबाट जित्नुभएको थियो भने २०७० सालको चुनावी प्रतिस्पर्धामा यादवले महतोलाई हराउनुभएको थियो । यस कारण अहिले गठबन्धनको समर्थनसमेत यादवलाई रहेकोले महतोका लागि यो क्षेत्र तुलनात्मक रूपमा गाह्रो मानिन्छ ।
२०७४ सालको चुनावमा महतोले धनुषा ३ बाट जिते पनि उहाँका लागि पनि यो क्षेत्र नयाँ भने होइन । २०४८, ०५१, ०५६ मा समेत यसै क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएका महतोले २०५६ मा मात्र जित्नुभयो ।
लामो समय मधेसको राजनीति गरेर सत्ता र शक्तिमा समेत रहनुभएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र मधेसमा अहिले चर्चाको केन्द्रमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी २ मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस कारण पनि सप्तरी २ चर्चाको केन्द्रमा छ ।
यादव एमालेसँगको गठबन्धनमा हुनुहुन्छ भने सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुर यसै क्षेत्रबाट प्रतिस्पर्धा गरिरहनुभएको छ । सीके राउत पहिलो पटक चुनावमा उठे पनि जनमत पार्टीको चर्चाका कारण यो क्षेत्रमा कस्ले जित्छ भन्ने आँकलन गर्न गाह्रो छ ।
तर पालिका चुनावमा राउतको पार्टीले खासै राम्रो परिणाम ल्याउन सकेन भने जसपाका यादव एमालेको समर्थनमा र लोसपाका ठाकुर सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गर्नुभएकाले कसकाे अवस्था बलियाे छ भनेर आँकलन गरी हाल्ने अवस्था छैन । यादवले २०७४ सालमा यसै क्षेत्रबाट चुनाव जित्नुभएको थियो ।
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र एमालेका सचिव रघुवीर महासेठ पुनः एक पटक धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यकाे प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ सालको चुनावी प्रतिस्पर्धामा महासेठले यादवलाई हराउनुभएको थियो । २०६४ र २०७० को चुनावमा यादव प्रत्यक्षमा नभइ समानुपातिक तर्फबाट संविधान सभा सदस्य बन्नुभएको थियो ।
तर अहिले यस क्षेत्रको राजनीतिक समीकरण बदलिएको छ । जसपाको एमालेसँग तालमेल भए पनि जसपाले यहाँ भने महासेठलाई समर्थन गर्ने नभएर आफ्नै उम्मेदवार महाजन यादवलाई उठाएको छ। महासेठले जसपाको समर्थन नपाउनु तथा गठबन्धनका तर्फबाट कांग्रेसका यादवले लोसपासमेतको सहयोग पाउने हुँदा केही बलियाे अवस्था देखिन्छ ।
धनुषा ३ मा यस पटकका दुवै बलिया प्रत्याशी यस क्षेत्रका लागि नयाँ अनुहार हो । लोसपाका नेता अनिल झा र एमालेकी नेत्री जुलीकुमारी महतो दुवै यस क्षेत्रमा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
गएको चुनावका प्रतिस्पर्धी कांग्रेसका नेता विमलेन्द्र निधि तथा लोसपाका नेता राजेन्द्र महतो दुवै जना यस पटक यो क्षेत्रमा उम्मेदवार बन्नुभएको छैन । महतो सर्लाही २ मा जानुभएको छ भने निधि यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छैन ।
लोसपाका नेता झाका लागि यो क्षेत्र नयाँ भए पनि नेत्री महतोका लागि भने नयाँ होइन । उहाँ यसै क्षेत्रबाट २०७० सालको चुनावमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग हार्नुभएको थियो ।
नेपाली कांग्रेसकी पूर्व–कोषाध्यक्ष चित्रलेखा यादवका लागि यो क्षेत्र नयाँ नभए पनि जसपाका नेता राजकिशोर यादवका लागि यो क्षेत्र नयाँ हो । २०५६ सालमा यसै क्षेत्रबाट चुनाव जित्नुभएकी सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखालाई माओवादीले समर्थन गरेकोले स्थिति केही सुदृढ मानिन्छ । कारण यस क्षेत्रमा माओवादीको अवस्था बलियो देखिन्छ ।
गएको चुनावमा यसै क्षेत्रबाट माओवादीका सुरेशचन्द्र दासले चुनाव जित्नुभएको थियो । यसै क्षेत्रबाट उहाँले २०४८ र ०५१ को चुनावसमेत जित्नुभएको थियो । २०७४ मा एमालेले माओवादी केन्द्रका दासलाई समर्थन गरेको थियो । तर अहिले भने एमालेले राजकिशोरलाई सघाउँदै छ । गएको चुनाव भने उहाँले सिरहा–४ बाट जित्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।