तिहारमा फूलले सिँगारिए म्याग्दीका गाउँघर  (फोटोफिचर)

 कात्तिक ७, २०७९ सोमबार १७:२९:५७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेपालीहरूको दाेस्राे ठूलो चाड तिहारको भाइटीका आउन अब दुई दिनमात्र बाँकी छ । यति बेला परदेशिएका नेपाली दाजुभाइ पनि आफ्नो गाउँघर फर्किएका छन् । गाउँका घरहरू रातो माटो र सेतो कमेरोले पोतिएपछि चिल्ला देखिएका छन् । गाउँघरमा हालिने लिङ्गेपिङ र रोटेपिङले वातावरण थप रमणीय बनेको छ ।

यमपञ्चकको आज दोस्रो दिन अर्थात् कुकुर तिहार । यति बेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलको बास्नाले गाउँ नै मगमग बसाएको छ । सुन्दर तथा मनमोहक वातावरणले गाउँलाई थप आकर्षकयुक्त बनाएको छ । घर, आँगन, डिल, बारी, कान्ला र खोल्सा–खोल्सीमा फुलेका फूलहरूले तिहार नजिकिएको सङ्केत गर्दछ । सहर, बजारमा पनि रङ्गेली रङ, विभिन्न प्रकारका फूल र मालाले तिहारको रौनक छाएको छ ।

यसै क्रममा तिहार पर्व भित्रिएसँगै हिमाली जिल्ला म्याग्दीको सहरदेखि ग्रामीण भेगसम्म सयपत्री, मखमली, गोदावरी, तिहारेलगायत फूलहरू ढकमक्कै फुलेका छन् । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको सबै क्षेत्रमा अहिले तिहारका लागि विभिन्न प्रजातिका फूल फुलेका छन् । तिहारमा फुलेका यी फूलहरूले म्याग्दीका घर, गाउँ र टोल, बस्तीहरू जग्गेमा बस्ने बेहुलीजस्तै सिँगारिएका छन् । तिहारमा फुलेका फूलहरूले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकलाई समेत लोभ्याएको छ ।

तिहार पर्वलाई फूलैफूलको पर्वको रूप पनि मानिन्छ । तिहारको अन्तिम दिन भाइटीकामा मखमली र सयपत्री फूलको माला अनिवार्यजस्तै छ । यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायतका फूलहरू अनिवार्यरूपमा प्रयोग गर्ने गरिन्छ । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नका लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलको खेती गर्ने र खरिद–बिक्री हुने गरेको छ । यी फूलहरूको माग उच्च हुन्छ । कतिपयले फूल खेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानीसमेत गर्दै आइरहेका छन् ।

 

तिहार पर्व दाजुभाइ र दिदीबहिनीको बीचमा आत्मीयता बढाउने तथा सम्बन्ध अझै प्रगाढ बनाउने उत्सव पनि हाे । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युको देवताको रूपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यममार्फत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग अनि कुकुर, गाई र अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।

तिहार पर्वसँगै गाउँघरमा सयपत्री, मखमलीलगायत फूलहरू ढकमक्क फूलेर रौनकता छाएको बेनी नगरपालिका–५ नयाँगाउँकी अगुवा महिला यामकुमारी पाईजाले बताउनुभयो ।

तिहार अर्थात् दीपावलीलाई झिलीमिली बत्तीहरूसहित उज्योलोको पर्वका रूपमा पनि लिइन्छ । तिहारमा झिनियाँ, सेलरोटी, मिठाइजस्ता मिठा–मिठा परिकारहरू खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न प्रकारका फूलको माला र सप्तरङ्गी टीका लगाएर मनाउने चलन छ । तिहारलगायत चाडपर्वमा मिठो–मिठो खाने, नयाँ लुगा लगाउने, पिङ तथा चमच्चा खेल्ने, चङ्गा उडाउने नेपाली समाजको आफ्नै विशेषता हो ।

 

तिहारको अन्तिम दिन भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइ मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा, उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मिठा–मिठा परिकारहरू खुवाउने गर्दछन् । यसरी नेपाली समाजमा दोस्रो ठूलो चाड तिहार पर्वलाई दिदीबहिनी र दाजुभाइको बीचमा आत्मीयता साटासाटसँगै हर्षोल्लासका साथ मनाउने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया