झिनियाँको माग थेग्नै मुस्किल

 कात्तिक ८, २०७९ मंगलबार १२:२६:२६ | रासस
unn.prixa.net

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ ।  

रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङमा एक दशक अघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आउनुभएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उहाँ माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउनुहुन्छ ।

‘एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ’ व्यवसायी श्रेष्ठ भन्नुहुन्छ, ‘यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो ।’

लामो समय यसै व्यावसायमा बिताउनुभएकी उहाँलाई झिनियाँ उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यहीँ आउने गर्दछ । घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ ।

पहिला एक्लै उत्पादन गर्दै आउनुभएकी उहाँले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आउनुभएको हो । यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ ।

यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन एक सयमा फुटकर र थोकमा भने ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ।’

व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दशैँ र तिहारमा गरेर झिनियाँबाट करिब छ लाख रुपैयाँ बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उहाँको अनुभव छ ।

पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर घरमा तिहारमा हातले घुमाउने सानो सोँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिले जस्तो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

रामपुर ४ बस्ने फूलमाया विक पहिला घरमा आफैँले झिनियाँ बनाउने गरेपनि हिजोआज भने बजारबाटै किनेर प्रयोग गर्नुहुन्छ । भनेको समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झण्झट गर्नु नपरेको उहाँको भनाइ छ ।

निस्दी गाउँपालिका– ५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरिद गरेर व्यापार गर्ने गरेको बताउनुहुन्छ । रामपुर– ४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उहाँलाई पत्तो छैन । 

‘बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पुर्याउनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ,’ लक्ष्मी भन्नुहुन्छ ।

गएको छ वर्षदेखि यस व्यवसायमा आवद्ध उहाँ यस पटकको तिहारमा एक लाख रुपैयाँ बराबरको व्यापार हुने बताउनुहुन्छ । घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र बिक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको लक्ष्मी बताउनुहुन्छ । 

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा यातायातको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन् । यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार बाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

चामलको पिठो पकाएर मेसिनको सहायताले झिनियाँ बनाइ सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी पहिले पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया