ब्राजिलको राष्ट्रपतिमा मजदुर नेता लुला निर्वाचित

 कात्तिक १४, २०७९ सोमबार १५:१६:५९ | एजेन्सी
unn.prixa.net

ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको छ ।

बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेका बीबीसीले जनाएको छ । पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि लुला दा सिल्भा र बोल्सोनारोबीच हिजो आइतवार पुनः चुनाव भएको हो ।

७७ वर्षका मजदुर नेता लुला राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो । उहाँले आउँदो जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्नुहुने छ । गरिब परिवारबाट आएर देशको सर्वोच्च पदमा पुग्ने लुलाको जीवन कथा र उहाँ राष्ट्रपति हुँदा ब्राजिलले गरेको आर्थिक सुधारलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि लुला संसारकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ रहेका बताउनुभएको थियो ।

पाँच कक्षासम्म मात्रै पढेका लुलाले परिवारको आर्थिक समस्या टार्न सुरुमा जुत्तामा पालिस लगाउने काम गर्नुभयो । त्यसपछि उद्योगमा मजदुरी थालेका लुला २० वर्षको उमेरदेखि मजदुरका हक अधिकारबारे बोल्न थाल्नुभएको हो । मजदुर नेताका रूपमा उदाएका लुला तेस्रो पटक ब्राजिलको राष्ट्रपतिमा चयन हुनुभएको हो । भ्रष्टाचार मुद्दामा जेल चलान गरिएका कारण सन् २०१८ को राष्ट्रपतीय चुनावमा लुला उम्मेदवार बन्न पाउनुभएको थिएन । अभियोगलाई प्रमाणित हुने प्रमाण नभएको भन्दै सर्वोच्चले उहाँको सजाय रद्द गरेपछि १८ महिनाको जेलपछि रिहा हुनुभएको थियो ।

जेलबाट छुटेको १९ महिनापछि राष्ट्रपतिमा चयन भएका लुलाले देशको आर्थिक स्थिति फेरि सबल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुलाको जितले ब्रजिलको सबैभन्दा उग्र दक्षिणपन्थी सरकारको अन्त्य गरेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया