बझाङको ताक्लाकोट जोड्ने सडक : वर्षौंदेखिको चुनावी एजेन्डा, तर काम सुस्त

 कात्तिक १६, २०७९ बुधबार ११:०:२४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – वैशाखको पालिका चुनावअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बझाङ पुग्नुभयो । नेकपा एमाले बझाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले बझाङको मात्रै नभई सुदूरपश्चिमको समृद्धिको ढोका ताक्लाकोट नाका नै रहेको बताउदै नाका खोल्नका लागि आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने बताउनुभयो ।

२०७४ सालको चुनावको बेला नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि बझाङ पुग्नुभएको थियो । उहाँले पनि यही चैनपुर–ताक्लाकोट नाकालाई खोल्न पहल गर्ने बताउनुभयो ।

त्यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्राई पनि बझाङ पुग्दा ताक्लाकोट नाका खोल्ने बताउनुभएको थियो । यस्तै कांग्रेस नेताहरु बालकृष्ण खाण, प्रकाशमान सिंह, रामचन्द्र पोडेल, नेकपा एमालेका नेता भीम रावल, माओवादी नेता जनार्दन शर्मा, तथा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत बझाङ पुग्दा ताक्लाकोट नाका खोल्ने विषयलाई मुख्य एजेण्डा बनाउने गरेका छन् । जिल्लास्तरका सबै नेताहरुको चुनावी एजेन्डा पनि यही नाका बन्दै आएको छ । अहिले पनि उम्मेदवारहरुले यही नाका खोलाउने विषयलाई मुख्य एजेण्डा बनाउँदै आएका छन् ।

आफू निर्वाचित भएमा नाका खोल्नका लागि सरकारलाई दबाब दिने एमालेबाट प्रतिनिधिसभा उम्मेदवार ऐन महरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निर्वाचित भएमा पहिलो काम ताक्लाकोट नाकालाई औपचारिक रूपमा खोल्ने र सुरुङमार्ग सहितको सडक निर्माणका लागि बजेट विनियोजन गराउनेमा केन्द्रित रहनेछु । यो नाका खुलेमा सुदूरपश्चिम प्रदेशको आर्थिक विकासले गति पाउनेछ ।’ 

यस्तै सत्ता गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका भानुभक्त जोशीले पनि बझाङ मात्रै नभएर सुदूरपश्चिमकै समृद्धिको आधारका रूपमा रहेको यो नाका खोल्ने र सुविधायुक्त सडक निर्माण गर्ने काममा आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । ‘जिल्लाका सबै सम्भावना र सपनाहरूलाई उजागर गर्ने गरी काम गर्नेछु । चैनपुर ताक्लाकोट नाका खोल्ने र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा रहनेछ’ उहाँले भन्नुभएको छ । यस्तै प्रदेश सभा सदस्यका उम्मेदवारले पनि यसै नाकालाई नै प्रथमिकतामा राखेका छन् ।

सडक निर्माणको काम भने कछुवा गतिमा

नेताहरूले हरेक चुनावमा मुख्य मुद्दा बनाउने गरेको यो सडक निर्माणको काम भने कछुवा गतिमा भइरहेको छ । सेती लोकमार्ग उत्तर खण्ड अन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेको भए पनि भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड चैनपुर–ताक्लाकोट  सडक आयोजना कार्यालयले जनाएको छ । 

१० वर्षअघि सन् २०१२ मा डीपीआर भएको यस सडक खण्डमा १० वर्षसम्म जम्मा ३८ मिलोमिटर ट्रयाक खोल्ने काम मात्रै भएको छ । चैनपुरदेखि ताक्लाकोट नाकासम्म १ सय १७ किलोमिटर सडक कटान गर्नु पर्ने र आर्थिक वर्ष २०७२।०७३ मा स्वच्छन्द नागार्जुन बानियाँ जेभीसँग  ठेक्का सम्झौता भएको चैनपुर ताक्लाकोट सडक खण्डका सव ईन्जिनियर विष्णु खातीले बताउनुभयो । 

१८ किलोमिटर दूरीको चैनपुरदेखि रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन । २ वर्षभित्र काम सक्ने गरी सुरुवाती ठेक्का सम्झौता गरेकामा ७ वर्षमा ९५ प्रतिशत काम गरेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्र बहादुर सिंहले बताउनुभयो । २२ करोड लागतमा काम गर्ने गरी निर्माणको जिम्मा लिएको यस कम्पनीले १८ किलोमिटर सडकलाई ठूला गाडी सञ्चालन गर्न मिल्ने गरी ७ दशमलव ५ मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो । 

तल्कोट गाउँपालिकाको रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त देखिएको छ । ४ वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७४ मा ठेक्का लिएको यस कम्पनीले ५ वर्ष पुग्दा समेत ५० प्रतिशत काम गर्न सकेको छैन । ४ वर्षको अवधिमा १४ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न गरेको यस कम्पनीले २०७६ पछिका ३ वर्षमा थप ६ किलोमिटर ट्रयाक खोलेको छ । धुलीसम्म नै ठूला गाडी सञ्चालन गर्न मिल्ने गरी ८ मिटर चौडा सडक बनाउने जिम्मा लिएको यस कम्पनीको काम निकै ढिलो गतिमा भइरहेको बताउँदै आयोजना प्रमुख सिंहले भन्नुभयो ‘बीचको एक वर्ष त प्रगति शून्य नै भएछ । तोकिएको समयमा काम सम्पन्न नगरे कारबाही गर्ने चेतावनी दिएपछि बल्ल काम थालेको छ ।’ उहाँले अहिले तल्कोट गाउँपालिकाको दुनिवनसम्म ट्रयाक खोल्ने काम भइरहेको र कम्पनीले समयमै काम सम्पन्न नगर्ने निश्चित जस्तै भएको बताउनुभयो ।

सम्झौता भएपछि समयमा नै काम सम्पन्न नगर्ने ठेगदार कम्पनीलाई कारबाहीको दायरामा नल्याएका कारण काममा ढिलासुस्ती हुने गरेको स्थानीयले बताएका छन् । ठेकेदारहरुलाई राजनितीक दलले नै संरक्षण गर्ने प्रवृतिका कारण काम समयमा नै सम्पन्न नहुने गरेको साईपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै स्थानीय तहहरुमा सडक संजाल जोडी सकेको छ अब साईपाल गाउँपालिकामा मात्रै बाँकी छ ।

यहाँ भएको लाखौँ मूल्य बराबरको जडीबुटी त्यत्तिकै खेर जाने गरेको छ । भेडाच्याङ्ग्रा पनि बिक्री गर्न महिनौं दिन लाग्छ । तिब्बतसँग नाका जोडिएका कारण यहाँको बन्यजन्तुको चोरी शिकार र तस्कर पनि रोकिएको छैन । नाका खोल्न सके चोरी शिकार र तस्करी रोकिनुका साथै लाखाैँ  मूल्य बराबरको जडीबुटीले बजार पाउनेथियो ।’
 

अन्तिम अपडेट: चैत २४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया