बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

 कात्तिक १९, २०७९ शनिबार ८:०:९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् ।

अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार दिन भयो ।

अक्सिजनसहित लैजानुपर्ने भएकाले जीपमा लैजान नसकिएको गुर्धामीले बताउनुभयो । जिल्लाका सबै पालिकामा रहेका एम्बुलेन्स चालकदेखि त्यहाँका जनप्रतिनिधिहरुलाई खबर गरेकोमा कतै चालक नभएको र कतै एम्बुलेन्स बिग्रिएको बताउने गरेका उहाँले गुनासो गर्नुभयो ।

बझाङमा नौ वटा एम्बुलेन्स छन् । तर तीमध्ये जिल्ला अस्पतालका दुई वटा मात्रै सञ्चालनमा छन् । केदार स्युँ गाउँपालिकाको एम्बुलेन्स बिग्रिएको एक वर्ष भयो । छविसपाथिभेरा गाउँपालिकाको एम्बुलेन्स प्रयोगविहीन भएको महिनौँ भयो । मस्टा गाउँपालिकाले चालक नभएको भन्दै एम्बुलेन्स थन्काएको छ ।

तल्कोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, बुङ्गल नगरपालिकामा रहेका एम्बुलेन्स पनि थन्किएका छन् । पालिकाका जनप्रतिनिधिले चढ्ने गाडी बिग्रिएमा तत्काल मर्मत गर्ने र चालक पनि सधैँ तयारी अवस्थामा हुने गरेको भए पनि एम्बुलेन्स बिग्रिएपछि मर्मत नगर्ने र चालक नभएको बहाना पार्ने गरेको स्थानीय बताउँछन् । जिल्ला अस्पतालमा कार्यरत डाक्टर मिलन खड्काले पालिकाले खरिद गरेका एम्बुलेन्सले बिरामीलाई सेवा नदिएको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया