मनोरम दृश्यावलोकनको लागि गन्तव्य बन्दै टाेड्के (फोटोफिचर)

 कात्तिक १९, २०७९ शनिबार १५:२६:२१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के  मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।  

समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लोपटक याे ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड जस्तै बनेपछि थप आकर्षक बनेको हो । माघदेखि वैशाख महिनासम्म लालीगुराँस ढकमक्कै फुलेर राताम्य हुने टोड्के क्षेत्रमा विभिन्न समयमा वनभोज खानका लागि मानिसहरु पुग्ने गरेका छन् । टोड्के स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहको गन्तव्य बनेको छ ।

टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्णसहित मानापाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेनलगायत हिमालहरु देखिन्छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ, पर्वत र बागलुुङको डाँडाकाँडाहरु समेत देखिन्छन् । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वनजङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको थप आकर्षण हो । हिमालसँगै टाँसिएर सेल्फी लिन र टिकटक बनाउन पाउँदा मन त्यसै फुरुङ्ग हुन्छ ।

टोड्के हिल रिसोर्ट प्रालिले पर्यटकलक्षित सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि अहिले दैनिकजसो स्वदेशी पर्यटकहरु टोड्केमा पुग्ने गरेको स्थानीयले बताएका छन् । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको टोड्के हिल रिसोर्टका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो ।

अहिले पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ । थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादीरहित मुलाको खेती गर्दै आएका छन् । टोड्के पुग्ने पर्यटकलाई स्थानीयले मुला र गुन्द्रुक उपहार दिने गर्दछन् ।

यसैगरी टोड्केमा एकसय वर्ष पुुरानो प्युठान जिल्लामा रहेको स्वर्गाद्वारी आश्रमको शाखा पनि रहेको छ भने यहाँ विभिन्न समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र टोड्केको विकास गर्न तथा पर्यटक आगमन बढाउनका लागि सडक सञ्जालको स्तरोन्नति गर्नुपर्ने रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया