चोभार सबस्टेशन निर्माणमा भइरहेको अवरोध हट्यो

 कात्तिक २०, २०७९ आइतबार १५:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेशन निर्माणमा भइरहेको अवरोध हटेको छ । 

नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलमा रहेकाे १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासीले अवरोध गर्दै आएका थिए । त्याे ठाउँमा खेल मैदानको रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयवासीले सबस्टेशन निर्माणमा अवरोध गर्दै आएका थिए । २०७८ माघ १७ गतेकाे मन्त्रिपरिषद्को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेशन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्राधिकरणले सर्भे, माटो परीक्षण, डिजाइन जस्ता निर्माणअघिका प्रारम्भिक कामहरू सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस ठाउँकाे विकल्पमा अन्य ठाउँमा सबस्टेशन सार्न नसकिने बताउँदै आएको थियो । 

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उपमेयर शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीयवासीका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेशन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । 

प्राधिकरणले स्थानीयवासीले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, सङ्घ–संस्थासँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने छ । चोभारमा रहेकाे सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु भएको झन्डै दुई किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयवासीको मागअनुसार लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ ।  

प्राधिकरणले सबस्टेशन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत् आपूर्तिको आवश्यकतालाई ध्यान दिएर सबस्टेशन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ ।  

बैठकमा मेयर नकर्मीले विकास निर्माणका काममा नगरपालिकाको सँधै सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबस्टेबन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौँ, सबस्टेशन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।’ 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेशन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताउनुभयो । ‘काठमाण्डाै उपत्यका विशेषता कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युतको मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेशन ज्यादै महत्त्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘यस्ता सबस्टेशन बनाउन सकिएन भने केही वर्षमा विद्युत् उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाण्डाै उपत्यकामा लोडशेडिङ गर्नुपर्ने अवस्था आउने छ ।’ 

काठमाण्डाै उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीयवासीले अवरोध गरिरहेका छन् । 

स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रूपमा चोभारमा सबस्टेशन निर्माण अगाडि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाण्डाै खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । 

एसियाली विकास बैंकको काठमाण्डाै उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेशन निर्माण गर्न लागिएको हो । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । 

काठमाण्डाै उपत्यकाको सन् २०३० सम्ममा ९२५ मेगावाट, २०४० सम्ममा १८२५ मेगावाट र २०५० सम्ममा ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरू योजनाबद्धरूपमा अगाडि बढाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया