एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा लगानी गर्ने

 कात्तिक २१, २०७९ सोमबार १६:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । 

आज सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो । एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट झन्डै सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट झन्डै एक अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले झन्डै एक अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख रहेको छ । 

ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका झन्डै ३० हजार परिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ सचिव पुष्करले एसियाली विकास बैंकले विगतदेखि निरन्तररूपमा सहयोग गर्दै आएको स्मरण गर्दै अझै सहयोगको अपेक्षा राखेको बताउनुभयो । उहाँले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्‍याएर छिटै काम सुरु गर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया