काठमाण्डौ -२ : ३० जना उम्मेदवार, फुयाँल र घर्तीको प्रतिस्पर्धा रोचक हुने अनुमान

 कात्तिक २३, २०७९ बुधबार ११:२४:१८ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको अन्य क्षेत्रमा जस्तै क्षेत्र नम्बर २ मा पनि विभिन्न दलका नेता कार्यकर्ता र उम्मेदवारहरु घरदैलो तथा आपसी भेटघाट र छलफलमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा नेकपा एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घर्तीको उम्मेदवारी रहेको छ ।

यस क्षेत्रमा पहिलो पटक सांसद बन्ने दाउमा रहेका फुयाँल र घर्तीको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर २ मा राजनीतिक दलबाट २० जना तथा स्वतन्त्रबाट १० जना गरी कुल ३० जनाले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा सुरुदेखि नै नेकपा एमालेको पकड राम्रो भएकोले यसपटक पनि नेकपा एमाले नै विजयी हुने अनुमान गरिएको छ । तर सत्ता गठबन्धन तथा स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई यस क्षेत्रमा चुनौती नै देखिन्छ । 

गएको पालिका चुनावको मत परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमाले र कांग्रेसबीच प्रतिस्पर्धी मत देखिन्छ । तर, कांग्रेसको आफ्नो उम्मेदवार नभएको तथा गठबन्धनका तर्फबाट घर्ती उम्मेदवार बनेकी कारण पनि मुख्य प्रतिस्पर्धा फुयाँल र घर्तीबीच नै हुने देखिन्छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट अनिल श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधुसुदन पुडासैनी, जनमत पार्टीबाट गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीबाट लक्ष्मण पोखरेलको उम्मेदवारी रहेको छ ।

यस्तै हाम्रो नेपाल पार्टीबाट कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालबाट बिजेन्द्र सुवेदी, नेपालका लागि नेपाली पार्टीबाट महेश बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, गान्धीवादी पार्टी नेपालबाट विदुर प्रसाद सिंखडा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चिरन्जीवी राई, नेपाली कांग्रेस बीपीबाट हेम विक्रम सिलवाल, नेपालवादबाट ईश्वर गौतम, विवेकशील साझा पार्टीबाट धनेज थापा, सचेत नेपाली पार्टीबाट पुण्य प्रसाद प्रसाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमको उम्मेदवारी रहेको छ ।

अन्य स्वतन्त्र उम्मेदवारीमा काहिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोद प्रसाद घिमिरे, प्रकाश अधिकारी, भगवती ढकाल, बलराम चौलागाई, कृष्ण अधिकारी, कृष्णराम पुरी रहेका छन् ।क्षेत्र नम्बर २ मा काठमाण्डौ महानगरका ३२ र ९, कागेश्वरी मनहराको ४, ५, ६, ७, ८ र ९ त्यस्तै संखरापुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा पर्छन् ।

यस क्षेत्रका मतदाताको आफ्नै समस्या र गुनासो छ । कोटेश्वर निवासी ६७ वर्षीय भोजराज पराजुली यस क्षेत्रमा सरकारले २० वर्षदेखि मनहरा जग्गामा टाउन प्लानिङका लागि जग्गा रोक्का गरेर राखेको तथा अहिलेसम्म पनि धेरै स्थानीयले जग्गा फिर्ता नपाएको बताउनुहुन्छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि धेरै स्थानीयको जग्गा रोक्का गरेर राखेको साथै काठमाण्डौ महानगरपालिकाले टाउन प्लानिङको लागि जग्गा एकिकरण गरेर राखेकोमा पनि उहाँको आपत्ति छ ।

पराजुली भन्नुहुन्छ, ‘अहिलेसम्म कसैले पनि क्षतिपूर्ति पाएको छैन । यस अघि माधव नेपाल यही क्षेत्रबाट दुई चोटी विजयी भए पनि जनहितमा कुनै काम गरेनन् ।’ तीनकुनेको जग्गाको मुआब्जा तथा आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य जस्ता सुविधा पर्याप्त नभएकोमा पनि उहाँको गुनासो रहेको छ । 

‘काठमाण्डौको तीनकुनेमा २०२९ सालमा पंचायती स्मारक बनाउन अतिक्रमण भएको जग्गा रोपनीको ४ हजार रुपैयाँमा मुआब्जा राखे पनि कुनै निकायले पैसा दिएनन्,’ उहाँ अगाडि थप्नुुहुन्छ, ‘त्यसपछि केशव स्थापितले मञ्जुश्रीको सालिक र पार्क बनाउने कुरा निकाले अनि ०५७ साल असारमा नवराज पराजुली ३२ नम्बर वडाध्यक्षको पहलमा रोपनीको ५१ लाख २० हजार दिने निर्णय भएपछि केही स्थानीयले पैसा बुझे । तर, अझै धेरैले पैसा पाएका छैनन् ।’

महानगरसँग नजिकै भएकाले २ नम्बर क्षेत्रमा सडक, स्वास्थ्य र शिक्षाको अवस्था भने राम्रै रहेको बताउनु हुन्छ यसै क्षेत्रका मतदाता तथा काँडाघारी निवासी कृष्णप्रसाद ढुंगाना । तर निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हुनुपर्ने उहाँको माग छ । उहाँ भन्नुहुन्छ, ‘पछिल्ला वर्ष २ नम्बर क्षेत्रमा केही विकास भएपनि अझै धेरै काम हुन बाँकी नै छ । यो क्षेत्रमा पिउने पानीको समस्या उस्तै छ । स्थानीयवासीले बोरिङकै पानी पिउनु परेको छ । ढलको व्यवस्थापनमा समेत उस्तै समस्या छ ।’ 

मूलपानी, थली, साँखु, इन्द्रायणीमा कृषिको राम्रो सम्भावना रहेकोले यी ठाउँमा खेती गर्ने किसानलाई मल, बीउ तथा अनुदान दिएर थप प्रोत्साहन गर्नुपर्ने पनि बताउनुहुन्छ ढुंगाना ।

यस क्षेत्रमा भएका वाग्मती र अरनिको टेक्सटायल तथा गलैँचा कारखाना बन्द भएपछि स्थानीयको रोजगारीमा असर परेको तथा युवाहरु बेरोजगार भएका कारण रोजगारीको लागि थप अवसर पनि सृजना गर्नुपर्नेमा उहाँको जोड रहेको छ । 

त्यस्तै यसै क्षेत्रकी मतदाता तथा कागेश्वरी मनहराकी बासिन्दा कमला सुनुवार अहिले भएका जनप्रतिनिधिले निष्पक्ष र पारदर्शी ढंगले काम नगरेकोले अब पाँच वर्षमा गर्ने कामले नागरिकको जीवनस्तरमा सुधार आउनु पर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, ‘चुनावमा गाउँठाउँको समस्या बुझ्ने र त्यसको समधान गर्नसक्ने जनप्रतिनिधि हुनुपर्छ त्यस्तै काम गर्दा सबैलाई समान अवसर दिएर निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्छ ।’

४० मतदान स्थल र ९५ मतदान केन्द्र रहेको यस क्षेत्रमा ४० हजार ९ पुरुष र ४१ हजार ९ सय ६१ महिला मतदाता गरी जम्मा ८१ हजार ९ सय ७० मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया