काठमाण्डौ–३ : उम्मेदवार भोट माग्दै, मतदाता गुनासो सुनाउँदै

 कात्तिक २४, २०७९ बिहिबार १४:४६:१५ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्ण बहादुर राई र नेपाली कांग्रेसका सन्तोष चालिसेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका राईले कांग्रेसकी अम्बिका बस्नेतलाई हराएर विजयी हुनु भएको थियो । यसपालि भने राईसँगको चुनावी भिडन्तमा आमने सामने हुन सन्तोष चालिसे अघि सर्नु भएको छ । चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाका मेयर हुनुहुन्थ्यो । 

त्यस्तै चालिसेसँगकाे प्रतिस्पर्धामा नेकपा एमालेका काठमाण्डौ जिल्ला कार्य समितिका अध्यक्षसमेत रहेका राई यसअघि २०६४ सालको चुनावमा प्रत्यक्षमा सिफारिस भए पनि अन्तिममा समानुपातिकको सूचिमासमेत पर्नुभएन । यस्तै २०७० सालको चुनावमा प्रत्यक्षमा सिफारिस भएका राई समानुपातिकको सूचीमा परे पनि सभासद बन्नु भएन ।

तर, २०७४ सालको संसदीय चुनावमा भने राई काठमाण्डौ क्षेत्र नम्बर ३ बाट विजयी हुनुभयो । २०७४ सालमा राई विजयी भए पनि वैशाखमा भएको पालिका चुनावमा कांग्रेस बलियो देखियो । त्यसकारण काठमाण्डौ क्षेत्र नम्बर ३ मा राई र चालिसेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे एकल चुनाव चिन्हबाट बद्रि प्रसाद बजगाईको उम्मेदवारी रहेको छ । गठबन्धनसँग तालमेल हुन नसकेपछि बजगाई एक्लै चुनावी मैदानमा उत्रिने निधो गर्नु भएको हो ।

यस क्षेत्रका अन्य उम्मेदवारमा जनता समाजवादी पार्टी नेपालबाट मोहन कुमार विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश गिरी, नेपाल मजदुर किसान पार्टीबाट विशोक डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहन बहादुर बस्नेत, जनमत पार्टीबाट गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपाने, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनबाट कृष्णकाजी श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नुर्प गेन्जेन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षा कुमार राई, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट नेत्र बहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुर्गा विक्रम थापा क्षेत्रीको उम्मेदवारी रहेको छ ।

त्यस्तै स्वतन्त्रबाट केदार नाथ मिश्र, दिनेश खनाल, कविता बिष्ट सुनार, राजेश बिष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा, निरञ्जन पुडासैनीको उम्मेदवारी रहेको छ । ३ नम्बर क्षेत्रमा निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलबाट १५ र स्वतन्त्रबाट ८ गरी कुल २३ जनाको उम्मेदवारी रहेको छ ।

यो क्षेत्र काठमाण्डौ महानगरपलिकाको ६ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको १, २, र ३ नम्बर वडा र गोकर्णेश्वर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा मिलेर बनेको छ ।

अहिले यहाँ विभिन्न पार्टीका नेता कार्यकर्ता भोट माग्नमा व्यस्त छन् । तर यहाँ बस्ने मतदाताले बाटो, खानेपानी र फोहोर व्यवस्थापनको समस्या सधैँ उस्तै रहेको गुनासो गरेका छन् । अहिलेसम्म कुनै प्रभावकारी काम हुन नसकेको र कार्यकता रिझाउने काम मात्रै भएको छ भन्नुहुन्छ रामहिटीका विश्वनाथ लामिछाने ।

गोकर्ण मन्दिरदेखि वडा नम्बर १, २ र ३ छुने सबै सडक र कागेश्वरी नगरपालिका वडा नम्बर १, २ र ३ का धेरै सडक अझै पनि दयनीय अवस्थामै छन् । यसअघि जितेका प्रतिनिधिले सबै ठाउँ विकास गर्छु भने पनि निर्वाचित भएपछि फर्केर पनि नआएकोे गोकर्णका बसन्त भन्डारीले बताउनु भयो ।

गएका वर्षहरुमा सोचे जस्तो परिवर्तन नभएकाले अबको प्रतिनिधि नयाँ सोच र नयाँ भिजन भएको आउनु पर्ने ज्ञान बहादुर तामाङ बताउनु हुन्छ । समाजको समस्या नजिकबाट बुझेको र त्यसको हल गर्न सक्ने हुनुपर्छ । नीतिगत परिवर्तन भएपछि मात्रै व्यवहारिक परिवर्तन हुने र बल्ल विकास सम्भव हुने तामाङ बताउनु हुन्छ ।

यो क्षेत्रमा २९ मतदान स्थल र ६८ मतदान केन्द्रहरु छन् । यहाँ ३० हजार ८४ पुरुष र २८ हजार ८ सय ५ महिला गरी कूल ५८ हजार ८ सय ८९ मतदाता छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया