घरदैलोमा उम्मेदवार, नागरिकले टिपाए समस्या

 कात्तिक २६, २०७९ शनिबार १५:७:९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् । 

घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिने क्रममा एमालेबाट प्रदेशसभा क्षेत्र नं. १ मा उम्मेदवारी दिनुभएका निरन राई अहिले चौबिसे गाउँपालिकाको विभिन्न वडाहरुमा मतदाताहरुसँग घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । निवर्तमान प्रदेशसभा सदस्य समेत रहनुभएका राईसँग मतदातासँग मत माग्ने क्रममा मतदाताहरुले आफ्ना समस्याहरु उम्मेदवारहरुसँग लिखित रुपमा राखेका छन् । 

मतदाताहरुले स्थानीयस्तरका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिदिन माग गर्दै उम्मेदवार समक्ष मागपत्र राख्ने गरेका छन् । मतदाताहरुसँग घरदैलो कार्यक्रममा चौबिसे गाउँपालिका–८ ठाडागाउँ पुग्नुभएका एमाले उम्मेदवार राईसमक्ष स्थानीयले ७ बुदेँ मागपत्र पेस गरेका छन् । गाउँमा भएका पानीका मुहान सुकेपछि ठाडागाउँमा पिउने पानीको चरम अभाव भएकाले खानेपानीको व्यवस्था गरिदिन माग गर्दै मागपत्र उम्मेदवार समक्ष बुझाएको स्थानीय संकलाल मगरले बताउनुभयो ।

ठाडागाउँका स्थानीयले खानेपानीसहित खेलमैदान निर्माण, पर्यटन विकास, सडकको स्तरोन्नति लगायतका माग राखेका छन् । 

यता चौबिसे गाउँपालिका–५ बोधेका स्थानीयले पनि खानेपानीको चरम अभाव भएकाले उम्मेदवार राईलाई खानेपानीको दिगो व्यवस्थापन गरिदिन माग गरेका छन् । बाह्रै महिना पानीको हाहाकार हुँदै आएको बोधेमा ट्याक्टरले छरुवाखोलाबाट हिलट्याङ्कमा ल्याएको पानी किनेर खानुपर्ने बाध्यता रहेको स्थानीय तारावीर याखाले बताउनुभयो । 

उहाँले भन्नुभयो–‘जुनसुकै पार्टीका उम्मेदवार आए पनि आफूहरुको पहिलो माग खानेपानीको दिगो व्यवस्थापन नै हो ।’ त्यस क्रममा उम्मेदवार राईले आफूले जितेपछि चौबिसेका विभिन्न वडामा देखिएको खानेपानी समस्यालाई दिगो समाधानको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चौबिसे गाउँपालिका जिल्लाका अन्य पालिकाहरुको तुलनामा बढी सुख्खाग्रस्त क्षेत्र हो । चौबिसे गाउँपालिका–३ र ४ नम्बर वडालाई प्रदेश सरकारले यसअघि नै सुख्खा क्षेत्र घोषणा गरिसकेको छ । त्यसकारण अहिले त्यस पालिकामा भोट माग्न जाने उम्मेदवारहरुलाई उनीहरुले खानेपानीको दिगो व्यवस्थापन गर्न माग गरेका छन् । 

यसका साथै एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राई, गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापा, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी, प्रदेशसभातर्फ एमालेका इन्द्रमणि पराजुली, गठबन्धनका अर्जुनकुमार राई, कुसुमकुमारी श्रेष्ठ, जनता समाजवादीका प्रदेशसभा उम्मेदवार रकम चेम्जोङ लगायतले पनि चुनावको मिति नजिकिएसँगै घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया