श्रम नवीकरण गर्दा अब विदेशमा रहेको आफ्नो बैङ्क खाताबाटै बिमा र कल्याणकारी कोषमा रकम तिर्न सकिने

 कात्तिक २८, २०७९ सोमबार १६:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  श्रम स्वीकृति लिँदा अब सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खाताबाटै बिमा र कल्याणकारी कोषको रकम तिर्न सकिने भएको छ ।

श्रम स्वीकृति लिँदा बिमा र कल्याणकारी कोषमा अनिवार्य तिर्न पर्ने रकम अब श्रमिकहरूले आफू रहेकै देशमा रहेको आफ्नो बैङ्क खातामार्फत तिर्न मिल्ने व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।

यसअघि अनलाइनबाटै श्रम स्वीकृति लिन र रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने भए पनि विदेशमा रहेको आफ्नो खाताबाट तिर्न सकिने व्यवस्था थिएन । विदेशमै रहेर अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्दा बिमाको रकम र कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने रकम भुक्तानीका लागि भने नेपालमा रहेका आफन्तकै सहारा लिनु पर्ने बाध्यता थियो ।

तर अब भने सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खातामार्फत नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बिमा कम्पनीको खातामा सोझै पठाउन सकिने छ । आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत हेर्न सकिन्छ । 

श्रम स्वीकृति लिँदा बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेकै कारण रोजगारीको सिलसिलामा श्रमिकलाई कुनै समस्या भएमा, बिरामी भएमा, अङ्गभङ्ग भएमा वा ज्यानै गएमा बिमा र वैदेशिक रोजगार बोर्डमार्फत रकम पाइन्छ । तर श्रम अवधि सकिएपछि घटना घटेमा यस्तो सहायता पाइँदैन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • गोबिन्द शरण लामिछाने

    Nov. 14, 2022, 6:01 p.m.

    धेरैं लाई थाहा नहोला बिदेशमा रहेर पनि हामीले जसरी अनलाईन बाट श्रम स्वीकृत गर्न सक्छौं। श्रम स्वीकृत लिँदा बीमा र कल्याण कारी कोषको रकम पनि हामि आफ्नै स्वदेशी बैङ्क खाता र वालेट प्रयोग गरी अनलाईन पेमेन्ट गर्न सक्छौं नी कनेक्ट IPS ईसेवा मार्फत्। कास्की पोखरा हाल दोहा कतार

  •  0 Reply

तपाईको प्रतिक्रिया