निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न, परीक्षण उत्पादनको तयारी

 कात्तिक २८, २०७९ सोमबार १८:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना

काठमाण्डाै – नेपालमा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । सोलुखुम्बुमा निर्माण भएको ८६ मेगावाट सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर परीक्षण उत्पादनको तयारी सुरु भएको छ । 

आज साेमवार सुरुङमा पानी भरिएको र भोलि मङ्गलवारसम्म परीक्षण उत्पादन हुने आयोजनाको मातृ कम्पनी साहस ऊर्जा लिमिटेडले जनाएको छ । साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले विभिन्न चरणको परीक्षण गर्नुपर्ने भएकाले डेढ महिनाभित्रमा व्यावसायिक उत्पादन गर्ने तालिका बनाइएको जानकारी दिनुभयो ।

यो निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना हो । तर उत्पादन सुरु हुने चरणमा पुगे पनि प्रसारण लाइनको तार तान्ने काम भने सकिएको छैन । व्यावसायिक उत्पादन सुरु हुने बेलासम्म प्रसारण लाइनको तार तान्ने काम पनि सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । 

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा संरचनाहरू निर्माण गरिएका छन् । आयोजनाको सबै काम सम्पन्न हुँदा १४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया