ग्लाेबल आईएमई र बीओकेबीच मर्जरकाे अन्तिम समझदारी पत्रमा हस्ताक्षर, देशकै सबैभन्दा ठूलाे बैंक बन्ने

 कात्तिक २८, २०७९ सोमबार २०:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज साेमवार काठमाण्डाैमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यसअघि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी  ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा  ३७९ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको नाम ग्लाेबल आईएमई बीओके लिमिटेड बैंक रहनेछ भने सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने सम्झौतामा उल्लेख छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य कायम रहनु हुने भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आईएमई बीओके लिमिटेडमा पाँच वटा (क) वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले देशको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, दूरदराजसम्म वित्तीय पहुँच पुर्‍याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने बताउनुभयो । उहाँले मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने पनि बताउनुभयो । त्यस्तै बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकास र समृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई बैंकको मर्जरपछि कुल ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखासहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बीओके लिमिटेड देशको सबैभन्दा ठूलो बैंक हुनेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया