तनहुँ क्षेत्र नम्बर १ मा पौडेल, राना र जोशीको  त्रिपक्षीय प्रतिस्पर्धा

 कात्तिक २९, २०७९ मंगलबार १७:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा तनहुँ क्षेत्र नम्बर १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ–१ मा सबैको चासो बढेको हो । यति मात्र होइन सत्ता गठबन्धनका उम्मेदवार पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीबीच भइरहेको रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ ।

तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका लागि १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन । त्यस्तै स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

२०७४ सालको संसदीय चुनावमा पराजित भएका वरिष्ठ नेता पौडेल यस पटक भने सत्तागठबन्धनको सहयोगले चुनाव जित्ने दाउमा हुनुहुन्छ । न्याय, निष्ठा, लोकतन्त्रको रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मैदानमा उत्रिएका पौडेलका अगाडि भने चुनौतीका चांग रहेको चर्चा पनि चल्न थालेको छ ।

तर, वरिष्ठ नेता पौडेल ‘हेभीवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ पनि रहेकाले चुनाव जित्न सहज रहेको विश्लेषण पनि गर्न थालिएको छ । तनहुँको डुम्रेमा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले पौडेललाई कार्यकारीको भूमिकामा पुर्याउने प्रतिबद्धता जनाएका कारण पनि पौडेललाई चुनाव जित्न झनै सजिलो भएको कांग्रेसीहरुको विश्लेषण छ ।

यस्तै, आउँदाे ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता पौडेल अंकगणितमा अघि देखिए पनि उहाँको जितमा स्वतन्त्र उम्मेदवार जोशी र एमाले उम्मेदवार राना मुख्य चुनौतीका रुपमा देखिएका छन् ।

तीनै जना उम्मेदवार यतिबेला जनताको मन जित्ने दाउमा छन् । आ–आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थकहरु घरदैलोमा व्यस्त भएका छन् । कांग्रेसका पूर्वनेता जोशीलाई मिलाउन नसक्दा गठबन्धनका साझा उम्मेदवार पौडेल आफैँ कमजोर बनेको आंकलन गर्न थालिएको छ । लगातार पाँच पटकसम्म तनहु–१ मा संसदीय चुनावका विजेता पौडेल २०७४ मा एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा हुनुहुन्छ । उहाँ बाराबाट चुनावी  प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कमजोर बन्दै गएको जिल्लाका नेता तथा कार्यकताहरु बताउने गर्छन् । २०७४ मा जोशीले पौडेलको विरुद्धमा उम्मेदवारी दिएपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी जाेशीलाई कारबाही गरेको थियो । यी दुई नेताको विवादले गर्दा केही हदसम्म एमालेलाई फाइदा पुग्ने देखिएको छ। सातौँपटक निर्वाचनमा होमिएका पौडेलले एमालेका रानासँग प्रतिस्पर्धा त गर्नैपर्छ त्यसमाथि यसपटक जोशीसँग पनि सामना गर्नुपर्ने भएको छ। यति मात्र होइन अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि पौडेलका बाधककै रुपमा देखिएका छन् । पौडेलको चुनाव जित्ने चाहनामा जोशीले ‘ब्रेक’ लगाउने गरी यतिबेला मैदानमा उत्रिएका छन् । जोशी पनि यतिबेला मतदाताको घरदैलोमा खटिएका छन् ।

पाँचदलीय सत्तागठबन्धनका चुनावी कमान्डर बनेका पौडेल अहिलेको चुनावमा भने आफैँ पनि ढुक्क हुनुहुन्न । पौडेल अहिले दिन रात नभनि मतदाताको घरआँगनमा पुगेर हातजोड्दै आफ्नो पक्षमा भोट माग्न व्यस्त हुनुहुन्छ । केन्द्रमा राम्रो पकड भएका पौडेलले निषेधको राजनीति गरेर जोशीलाई फसाएको आरोप जोशी पक्षधरले लगाउने गरेका छन् । त्यसको बदला लिन जोशीले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएकाे मानिन्छ ।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा एमालेका रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा एकीकृत समाजवादीका विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा एमालेका पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत पाँच वटा पालिका पर्छन् जसमा व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिका रहेका छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा एमालेले बन्दिपुर तथा नेकपा माओवादी केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ । क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ४ सय ९० मतदाता छन् । क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा ६७ हजार १ सय ४४ र तथा प्रदेश सभा ‘ख’ मा ५६ हजार ३ सय ४६ मतदाता छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया