एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्नुहुन्छ : फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हाे ?

 कात्तिक २९, २०७९ मंगलबार १६:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताउनुभएको छ ।

उज्यालोसँगको कुराकानीमा अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताउनुभएको हो । 

‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उहाँले भन्नुभयो ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ भने बाटो बनाइदिन्छु, अस्पताल बनाउँछु, खानेपानी ल्याउँछु भन्नुचाहिँ प्रलोभन हुँदैन, मैले कुरै बुझिनँ ।’

रौतहटमा भएको एक चुनावी कार्यक्रममा उहाँले स्थानीय भाषामा नै फ्री भिसा फ्री टिकटको कुरा गर्नुभएको थियो । अध्यक्ष नेपालले ‘फ्री का मतलब बिना ढेउवा के, बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाण्डौमे तालिम मिल्ते हे’ भनेर भाषण गर्नुभएको थियो । उहाँको यही अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालमा विभिन्न गन्तव्य देशमा रोजगारीका लागि जाने नेपाली श्रमिकले भिसा तथा टिकटको रकम तिर्न नपर्ने र त्यो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार म्यानपावर कम्पनीले बढीमा १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको थियो ।

तर सरकारको यही नियमकै कारण श्रमिक पठाउँदा लाखौँ रुपैयाँ लिने र प्रमाण चाहिँँ १० हजार रुपैयाँको मात्रै दिँदा समस्यामा पर्दा श्रमिकलाई न्याय पाउनसमेत कठिनाइ भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Brijnandan Kumar

    Nov. 15, 2022, 9:40 p.m.

    I am really condidet

  •  0 Reply

तपाईको प्रतिक्रिया