चुनावको मौका पारेर बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि

खाने तेल लिटरमा ४० र चामल बाेरामा ४०० सय रुपैयाँसम्म बढ्याे

 कात्तिक २९, २०७९ मंगलबार १६:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चुनावको मौका पारेर बजारमा धेरैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतसम्मले बढेको हो । 

सरकारको ध्यान चुनावमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्यधिकरूपमा बढेको मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीसमेत चुनावमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोक्न लागेको उपभोक्ताले गुनासो गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताउनुभयो । उहाँले पछिल्लो समय खाने तेल, दाल, चामलमात्रै नभएर हरेक खाद्यान्नलगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताउनुभयो । पछिल्लो एक वर्षमा ३० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको उहाँको भनाइ छ । 

सङ्घका पूर्वअध्यक्ष बज्राचार्यले दशैँ—तिहारको समयमा दुई सय ४० रुपैयाँ पुगेको खाने तेल अहिले बजारमा दुई सय ८० रुपैयाँ पुगेको जानकारी दिनुभयो । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा चार सय रुपैयाँसम्म बढेको बताउनुभयो । भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिनअघि नै हटाएर चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बजारमा खाद्यान्नलगायतका वस्तुको समस्या छैन । बजारमा सबै सामान उपलब्ध छ । तर वस्तुको मूल्यवृद्धि भने धेरै भएको अवस्था छ । एक वर्ष अगाडि १०० रुपैयाँमा पाउने सामानको मूल्य अहिले बढेर १३० बढी पुगेको छ । दशैँ–तिहारपछि मात्रै पनि १५ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । बजारमा मूल्यवृद्धि हुनुमा एक जना रिटेलमा सामान बेच्ने व्यापारीको कुनै हात हुँदैन । अहिले सबै सामानमा एमआरपी प्रिन्ट भएर आएको हुन्छ । त्योभन्दा माथि गएर बेच्न सक्दैन । बजारमा वस्तुको मूल्य बढ्नुमा आयातकर्ता वा उत्पादक हुन्छ । अहिले जसरी बजारमा वस्तुको मूल्य बढेको छ, त्यो अस्वाभाविक हो ।’

बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल गर्न चुनावकै अवसरमा मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले
उपभोक्ताको हितमा चासो नराखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै कुलेश्वरका खाद्य सामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खाने तेल, दाल चामलको मूल्य बढेर नै आएको बताउनुभयो । उहाँले भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको बताउनुभयो । बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको उहाँको भनाइ छ । 

कुलेश्वमा खाद्यन्न किन्न आउनुभएकी विष्णु प्रधानले दाल,चामल तथा तेलको मूल्यवृद्धि अत्यधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गर्नुभयो । उहाँले भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीले मूल्य नघटाएको बताउनुभयो । 

बजारमा व्यापारीले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा दिनभर काम गरेर बिहान–बेलुका दुई छाक टार्नेहरू मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया