मतदाताको गुनासो : बिजुली आएन तर भोट हाल्ने दिन आयो

 कात्तिक २९, २०७९ मंगलबार २०:१८:५४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नवलपरासी – नवलपरासीको बौदीकाली गाउँपालिका – ६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन वाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ । 

‘नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौँ भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन,’ गुरुङले भन्नुभयो, ‘सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।’ बिजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ । 

‘हरेक चुनावमा बिजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर बिजुली आउँदैन,’ गुरुङले गुनासो गर्नुभयो ।

स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्नुहुन्छ । 

त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका – ६ जगदेउका ४५ वर्षीय झमबहादुर बयम्वुलाई  अहिलेसम्म पाँचवटा चुनावमा भोट सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै झमबहादुरले भन्नुभयो, ‘राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेशा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।’ 

यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै बयम्बुले भन्नुभयो, ‘२०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो न खानेपानीको समस्या नै समाधान भएको छ ।’

जगदेउ गाउँमा ४० घरधुरी छन् । यहाँको मुख्य समस्या बाटो, खानेपानी र बिजुली हो । बाह्रै महिना बाटो सञ्चालन भए त्यहाँका उत्पादनले बजार पाउने उनीहरुको आशा छ । 

भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया तिलकुमारी सारुको बुझाइ छ । ‘चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्,’ सारुले भन्नुभयो, ‘गिरुवारी खोलामा पुल निर्माण भए बर्खाको समयमा सहज रुपमा यात्रा गर्न पाइने थियो ।’ 

दुई प्रतिनिधि र चार सङ्घीय चुनावी क्षेत्र रहेको नवलपुरमा यस जगदेउ गाउँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । नवलपुर – २ अन्तर्गत नै पर्ने बौदीकाली गाउँपालिका – ६ लाहापेका स्थानीयको समस्या पनि जगदेउका बासिन्दाको भन्दा फरक छैन । 

यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा २०७४ को चुनावमा आमनेसामने भएका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेसका उम्मेदवार कार्कीलाई १हजार ३ सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट महत विजयी हुनुभएको थियो । यसपटकको चुनावमा गठबन्धनको समीकरण भने फेरिएको छ । 

गएको चुनावको परिणाम उल्ट्याउने दाउमा कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जित निकाल्ने कसरतमा महत हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न राजनैतिक दलका र स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् । 

जम्मा ४० वटा वडा रहेको नवलपुर २ मा गएको पालिका चुनावमा एमालेले २२ वटा वडा जितेको थियो भने कांग्रेसले १६ वटा वडा, राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् । १लाख २९ हजार २ सय ८० जना मतदाता रहेको यस क्षेत्रमा ५६ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया