मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने बैंकर्स सङ्घको निर्णय

 कात्तिक २९, २०७९ मंगलबार १८:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य बैंकहरूले आउँदो मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज मङ्गलवार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेकाे हो ।

आमरूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकर्स सङ्घ ब्याजदर घटाउने विषयमा मौन बसेको छ । निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । अहिले केही बैंकको कर्जाको ब्याजदर १९ प्रतिशतसम्म पुगेको ऋणीले गुनासो गरिरहेका छन् । ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रँदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सलगायतका सङ्घ–संस्थाले ब्याजदर तत्काल घटाउन माग गरिरहेको छन् । 

बैंकर्स सङ्घले मङ्सिरमा भने निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको सङ्घका उपाध्यक्षसमेत रहनुभएका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो । बैंकहरूले निक्षेपमा व्यक्तिगत मुद्दती मा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया