पोल्याण्डमा क्षेप्यास्त्र खसेपछि जी–७ देशका प्रमुखहरूको आपतकालीन बैठक

 कात्तिक ३०, २०७९ बुधबार १०:५६:१२ | एजेन्सी
unn.prixa.net

युक्रेनलाई लक्षित गरी प्रहार भएको क्षेप्यास्त्र पोल्याण्डमा खसेपछि जी–७ देशका प्रमुखहरुको आपतकालीन बैठक बसेको छ ।

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० बैठकका क्रममा जी–७ देशका शीर्ष नेताहरु छलफलमा जुटेका बीबीसीले जनाएको छ । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान र स्पेनका नेताहरूको उपस्थिति रहेको बैठकको तस्बिर सार्वजनिक भएको छ ।

उनीहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छलफल गरेका छन् । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो । यो मिसाइल रुसबाट प्रहार भएको पुष्टि भएमा यसले द्वन्द्व थप बढाउने जोखिम रहने विश्लेषण गरिएको छ ।

यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन । पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानबिन गरिरहेको बताएको बीबीसीले जनाएको छ । जी–२० सम्मेलन आज सकिँदैछ ।

 


अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया