नेपालको अर्थतन्त्र सुधार्न नेतृत्वमा युवा आउनु पर्छ : डा. स्वर्णिम वाग्ले

‘रेमिट्यान्सले धेरै समय देशको अर्थतन्त्र धान्न सक्दैन’

 कात्तिक ३०, २०७९ बुधबार १३:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ । 

आज बुधवार बाग्मती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय देशसँग प्रतिस्पर्धी बनाउनका लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउनका लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने उहाँले बताउनुभयाे । यथास्थितिमा देशको अर्थतन्त्र माथि जान नसक्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र सबल र चलायमान बनाउनका लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा देशको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले देशको अर्थतन्त्र माथि लानका लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ ।’

डा. वाग्लेले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको देश भए पनि आत्यधिक कम मात्रै पर्यटक आउने गरेको बताउनुभयो । उहाँले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाउने तथा घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताउनुभयो । अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय देशको अर्थतन्त्र धान्न नसक्ने उहाँकाे दाबी छ । 

अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरू पग्लिरहेको बताउनुभयो । उहाँले लोकल ब्ल्याक कार्बनले ग्लोबल ग्रीन हाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरू तातेर पग्लन थालेको बताउनुभयो । अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि सबै देश मिलेर समाधान गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । 

डा. वाग्लेले नेपालको आर्थिक नीतिहरू भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताउनुभयो । उहाँले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरूमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया