रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न

जी–२० को अध्यक्षता भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण

 कात्तिक ३०, २०७९ बुधबार १९:३९:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ ।

इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ ।

सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अर्थतन्त्र नै समस्यामा पारेको भन्दै उनीहरूले फेरि एक पटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने जोड दिएका छन् ।

घोषणापत्रमा आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य भएको पनि उल्लेख रहेको बीबीसीले जनाएको छ । हिजो पोल्यान्डकाे भू–भागमा क्षेप्यास्त्र खस्दा दुई जनाको ज्यान गएपछि जी–२० मा आपत्कालीन बैठक बस्दा शिखर सम्मेलनको तालिकासमेत प्रभावित भएको थियो ।

सम्मेलन सकिएसँगै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जी–२० को अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गर्नुभएको रोयटर्सले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया