बसोबास भएका क्षेत्रमा हतियारको प्रयोग रोक्न विश्वका ८० देश प्रतिबद्ध : रुस र चीन भने मौन

 मंसिर ३, २०७९ शनिबार ८:९:४९ | एजेन्सी
unn.prixa.net

मानिसको बसोबास भएका क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न विश्वका ८० देशहरुले प्रतिबद्धता जनाएका छन् । 

संयुक्त राष्ट्र सङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई आयरल्यान्डको डब्लिनमा भएको सम्मेलनमा ८० देशहरुले प्रतिबद्धता जनाएका हुन् । 

प्रतिबद्धता जनाएका देशहरुले युद्धमा फसेका नागरिकहरूलाई बचाउन सहरी तथा बसोबास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । तर यो सम्झौता कानुनी रूपमा बाध्यकारी छैन।

संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा सम्पन्न देशहरुको समूह जी–सेभेनका सबै सदस्य राष्ट्र यो सम्झौतामा सहमत भएका छन् । तर रुस र चीन भने यसबारेमा मौन रहेका समाचार संस्था एएफपीले जनाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेका बेला रुसले सहरी क्षेत्रहरूलाई लक्षित गर्दै गरेको बम आक्रमणको आलोचना हुँदै आएको छ।

मानव बसोबास भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई हल्का रुपमा लिन नसकिने आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले बताउनुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि घोषणापत्रलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घ र आईसीआरसीले वर्षौँदेखि नागरिकहरू बस्ने र भेला हुने ठाउँहरूमा हतियार प्रयोग नगर्न प्रतिबद्ध हुन आह्वान गर्दै आएका छन् । रुस–युक्रेनको युद्धसँगै सिरिया, इराक, यमनलगायत देशमा हुँदै आएको सहरी द्वन्द्वका तथ्याङ्क र अनुसन्धानले घोषणापत्रलाई थप सान्दर्भिक बनाएको छ। 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया