दाङकाे पातु वनगाउँ माविमा बेलुकी ७ बजेसम्म मतदान हुने

 मंसिर ४, २०७९ आइतबार १७:३:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका १० काे पातु बवगाउँ माविको (ग) केन्द्रमा बेलुकी ७ बजेसम्म मतदान हुने भएको छ ।

दाङ क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर–१० को पातु वनगाउँ केन्द्रको मतदानस्थल (ग) मा राेकिएकाे मतदान दिउँसाे १ बजेपछि सुरु भएको हुँदा यो मतदान केन्द्रमा समय थपिएको हो ।

यो मतदान केन्द्रमा भोट हालेर गएका मतदातालाई फेरि बोलाएर मतदान सुरु गरिएको हुँदा मतदाता नछुटुन् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

पहिले खसेकाे ९१ मत बदर गर्ने सहमतिपछि फेरि मतदान सुरु भएको थियो । दलहरूका बीचमा भएको सहमतिअनुसार पहिले खसेका सबै ९१ मत बदर गरिएकाे हाे । 

यहाँ पहिले मत खसेका मतपेटिका फिर्ता लगि नयाँ मतमेटिका ल्याइ फेरि मतदान सुरु गरिएको थियो । 

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानजान नभइ भुलवश गल्ती भएको बताउनुभयो । यहाँ कर्मचारीको गल्तीले गर्दा दोस्रो पटकको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै मतदातालाई उपलब्ध गराइएको थियो । ४२ जनाले मत खसालिसकेपछि प्रतिनिधि सभाका सदस्यकोमा मतदान नभएको तथ्य पत्ता लागेपछि केही घन्टा मतदान राेकिएकाे थियो ।

त्यही समय परिपूर्तिका लागि बेलुका ७ बजेसम्म डोरीभित्र प्रवेश गरेका मतदातालाई मतदान गर्न दिने निर्णय भएको मतदान अधिकृत घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया