देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ : गगन थापा

 मंसिर ६, २०७९ मंगलबार १४:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गर्नु भएकाे छ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै शुभकामना आदानप्रदान कार्यक्रममा यस्ताे बताउनु भएकाे हाे । त्यसको लागि पार्टीभित्र छलफल सुरु भइसकेको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको बताउनु भयाे । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै नागरिकलाई विश्वस्त बनाउने उहाँकाे दाबी छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो अगाडि ठूलो चुनौती छ, यो चुनौतीको सामना गर्नका लागि देशभरको चुनावकाे प्रारम्भिक सङ्केतबाट पनि हामी यतिकुरा भन्नसक्छौँ । नेपालमा नेपाली नागरिकले स्थिर सरकार मात्र खोजेको होइन, अब नेपाललाई हाँक्ने नयाँ चालक पनि खाेजेकाे देखिन्छ। र यो नयाँ चालक पनि आजको दिनमा नेपाललाई कसैले दिनसक्छ भने त्यो हाम्रो पार्टी नेपाली कांग्रेस मात्रै हाे ।'

साथै उहाँले संसदीय दलको चुनावकाे तयारी थाल्ने बताउनुभएको छ ।  उहाँले मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

उहाँले यस चुनावबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । नयाँ सरकारले आम नागरिकलाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने उहाँले  बताउनु भयो । थापाले चुनाव परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरिरहेका छन् । नेपालमा चुनाव भयो । संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । आम मानिसहरु खुशी छन् । तर संविधानमा हामीले गरेका वाचाहरु पूरा हुन सकेको छैन । त्यसमा उनीहरु निराश छन् । आक्रोशित छन् ।अब सरकार बन्नासाथै दिन, रात एक गरेर हामीले तत्कालै आम मानिसलाई हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्छ।’

उहाँले चुनावका क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्ने सङ्कल्प गरेको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया