गुल्मीमा जीप दुर्घटनामा : पाँच जनाको ज्यान गयो, चार जना घाइते

 मंसिर ७, २०७९ बुधबार ७:१०:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप कुढडाँडामा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३० वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । ४ जनाको घटनास्थलमै र घाइते सोमैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । अरु ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते चालक कार्वोलिन सोमै, स्थानीय चेतमान सिञ्जाली, गिरबहादुर राहदी र खण्डन सोमैलाई उपचारका लागि पाल्पा पठाएको जनाइएको छ ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जितबहादुर त्रामुमगरले बताउनु भयाे । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया